पीडकलाई हदैसम्मको कार्रबाही र पीडितका बालबालिकालाई संरक्षणको माग

सुर्खेत । पञ्चपुरी घटनाका दोषीलाई हदैसम्मको कार्रबाहीको माग गर्दै पीडितका बालबालिकालाई संरक्षण गर्नुपर्ने भन्दै बालविवाह विरुद्ध साझा अभियानमा आवद्ध एकदर्जन बढी संस्थाहरुले प्रेश विज्ञप्ती निकालेका छन् ।
सञ्जालमा आवद्ध मानवअधिकार तथा ग्रामीण वातावरण संरक्षण केन्द्र (हुरेक–नेपाल), मानव अधिकारका लागि महिला एकल महिला समुह सुर्खेत,आईडिया नेपाल,सुन्दर नेपाल संस्था,सि.एम.सी नेपाल, नवज्योती केन्द्र ,वातावरण सुधार समाज ,एस.डब्लु .आर. आर ,आशा सञ्जाल ,अपाङ्ग महिला समुह , बाल अधिकारका लागि साझा अभियान लगाएतका संस्थाहरुले विज्ञप्ती निकालेका हुन् ।

गत २० गते पञ्चपुरी नगरपालिका ३ सुर्खेतका ३८ वर्षीय अम्मरबहादुर आले मगरले आफ्नी ३० वर्षीय श्रीमती मिना आलेमगरलाई हत्या गरेका थिए । मृतक मिनाका दुई नाबालक समेत रहेकोले उनीहरुको पालनपोषण र शिक्षादिक्षाका लागि सरकारसंग माग गरिएको हो ।
नेपालको संविधानले सुनिश्चित गरेको हरेक मानिसलाई बाँच्न पाउने अधिकार र नेपालले अन्तराष्ट्र्रिय स्तरमा गरेको प्रतिबद्धता अनुरुप कानुन कार्यान्वयन भइरहँदा पनि महिलामाथी हिंसाका घटनाहरु बढ्दो अवस्थामा देखिएको भन्दै तिनै तहका सरकारले महिलाको अधिकारलाई ध्यानमा राखी कानुन निर्माण गर्दापनि श्रृङ्खलाबद्ध रुपमा भएका यस्ता घटनाहरु हेर्दा निर्माण भएका ऐन, कानुन र नीति÷नियमहरु कार्यान्वयनमा फितलोपन देखिएको महशुष गर्न विज्ञप्तीमा उल्लेख छ ।

यस्ता खालका घटना घटाउनेहरुलाई हदैसम्मको कार्रवाहीको माग गर्दै यस्ता घटनालाई बढवा दिने खालका सामाजिक सञ्जालहरुमा टिकटक लगाएतका सामागी्रहरु पोष्ट गर्नेहरुलाई समेत कानुनी दायरा ल्याउनु जुरुरी देखिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

आगामी दिनमा यस्ता खालका घटना दोहोरिन नदिनका लागि आम अधिकारकर्मी, सञ्चारकर्मी, संघसंस्था, सुरक्षा निकाय, सरकार एंव न्यायका पक्षधर सम्पुर्ण दिदिबहिनी तथा दाजुभाइहरु समक्ष सहयोगका लागि अपिल समेत गरिएको बालविवाह विरुद्ध साझा अभियान सुर्खेतका सहसंयोजक ममता नगालले जानकारी दिइन् ।