नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिले रोक्नु हुँदैन : प्रचण्ड

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरणमा ढिलाई हुन नहुने बताएका छन्।

पाँच दिने जापान भ्रमण सकेर आज नेपाल फर्किएका प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग नागरिकता विधेयक प्रमाणीकरण हुन ढिला गर्न नहुने बताएका हुन्।

तर उनले राष्ट्रपतिले छिट्टै नागरिकता विधेयक प्रमाणीकरण गर्ने विश्वास पनि व्यक्त गरेका छन्।

उनले जापान पहिलो चोटी जाने मौका मिलेको भन्दै भ्रमणको क्रममा त्यहाँको कृषि प्रविधि र सूचना सम्बन्धी अध्ययन गरेको र त्यो नेपालको लागि अनुकरणीय हुने बताए।

प्रचण्डले जापानमा त्यहाँको सत्तारुढ दलको नेता र सांसदलाई भेटेको र सहयोगको आदान–प्रदानबारे छलफल भएको उल्लेख गरे।

उनले आसन्न निर्वाचनमा पर्यवेक्षणका लागि निम्ता पनि गरेको बताए। जापानको फुकुओकामा आयोजना भएको नेपाल फेस्टिभलको उद्घाटन गर्न प्रचण्ड साउन २१ गते जापान गएका थिए।