लेखापालको किर्ते हस्ताक्षर गरेको आरोपमा विद्यालयका प्रधानाध्यापक पक्राउ


सुर्खेत । कालीकोटको महावै गाउँपालिका–३ का ५४ वर्षीय देउला सिंह ठकुरीलाइ किर्ते गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

स्थानीय देव माध्यमिक विद्यालयका प्रधानाध्यापक ठकुरीलाई आफ्नो र लेखापालको संयुक्त नाममा रहेको विद्यालयको चेकमा लेखापालको दस्तखत किर्ते गरेको आरोपमा हिजो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जानकारी दिएको छ ।

ठकुरीले विद्यालयको खाताबाट १७ लाख रुपैयाँ भन्दा धेरै रकम निकालेको र दस्तखत किर्ते गरेको कसुरमा गत पुस २१ गते जिल्ला प्रहरी कार्यालय कालीकोटमा उजुरी दर्ता भएको थियो ।

पक्राउ परेका प्रधानाध्यापक ठकुरीका बारेमा थप अनुसन्धान भइरहेको कालीकोटका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले फरकबाटोलाई जानकारी दिए ।