नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशतमा सीमित हुने एडीबीको प्रक्षेपण

सुर्खेत । एशियाली विकास बैंक (एडीबी)ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशतमा सीमित हुने प्रक्षेपण सार्वजनिक गरेको छ । बैंकको एशियन डेभलपमेन्ट आउटलूक प्रतिवेदनमा नेपालको आर्थिक वृद्धि गत वर्षका तुलनामा खस्किने आँकलन गरेको हो ।

हरेक वर्ष उसले प्रकाशन गर्ने प्रतिवेदनमा देशहरूको आर्थिक स्थितिलाई समग्रमा मूल्यांकन गरेर प्रक्षेपण गर्ने गर्दछ । आर्थिक वर्ष २०७८र७९ मा नेपालको आर्थिक वृद्धिदर ५.८ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, विश्वव्यापी रूपमा जारी आर्थिक समस्याका कारण नेपालको अर्थतन्त्रको वृद्धिदर सुस्त हुन लागेको बैंकको प्रतिवेदनमा उल्लेख छ । सरकारको पूँजीगत खर्चमा वृद्धि, वित्तीय व्यवस्थापन र परियोजनाहरूको तीव्रताले नेपालको वृद्धिलाई सघाउने प्रतिवेदनमा औंल्याइएको छ ।

एडीबीले नेपालको अर्थतन्त्र सुस्त रहेको टिप्पणी पनि गरेको छ। कसिलो मौद्रिक नीति, देशभित्रको मागमा गिरावट, कोभिड(१९ का बेला दिइएको सुविधा खारेजीका कारण नेपालको अर्थतन्त्रमा त्यसको असर देखिएको प्रतिवेदनमा उल्लेख छ । बैंकले आगामी आर्थिक वर्ष २०८०र८१ मा भने आर्थिक वृद्धिदर पाँच प्रतिशत रहने प्रक्षेपण गरेको छ ।

एडीबीले नेपालको कृषि, उद्योग, आयाात निर्यात लगायत सबैको अवस्था बारेपनि आफ्नो प्रतिवेदनमा टिप्पणी गरेको छ । अर्थतन्त्रको मुख्य मियोमध्ये क्षेत्र रहेको कृषिको विस्तार यो वर्ष दुई प्रतिशतमा सीमित हुनेछ भनिएको छ । गत वर्ष कृषि क्षेत्र २.३ प्रतिशतले बढेको थियो । यो वर्ष त्यसका पनि कमि आउने प्रतिवेदनमा उल्लेख छ ।

धानको उत्पादन बढे पनि हिउँदमा वर्षा नहुँदा हिउँदे बालीको उत्पादन खस्किएको प्रतिवेदनमा उल्लेख छ । उच्च ब्याजदर, आयातमा निरुत्साहन, आन्तरिक मागमा कमीका कारण औद्योगिक विस्तार पनि सोचेजस्तो नहुने प्रतिवेदनमा उल्लेख छ । आगामी आर्थिक वर्षमा पनि यसको प्रभाव जारी रहने प्रतिवेदनमा उल्लेख छ ।

एडीबीले यो वर्ष सेवा क्षेत्रको वृद्धिदर पनि ४.४ प्रतिशत मात्रै रहने प्रक्षेपण गरेको छ । गत वर्ष सेवा क्षेत्र ५.९ प्रतिशतले वृद्धि भएको थियो । ब्याजदर वृद्धिका कारण घरजग्गा क्षेत्रको कारोबारमा मन्दी, खुद्रा र थोक कारोबारमा गिरावटका कारण सेवा क्षेत्र पनि खस्किन लागेको हो । बैंकले यो वर्ष नेपालको मूल्यवृद्धि दर ७.४ प्रतिशत रहने प्रक्षेपण गरेको छ ।