
सुर्खेत । कर्णाली उत्सवको छैटौँ संस्करण भोलीदेखि सूरु हुने भएको छ । भोली फागुन ५ देखि ७ सम्म सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली उत्सव सञ्चालन हुने भएको हो । कार्यक्रम वीरेन्द्रनगरको सिटी हल प्राङ्गणमा हुने आयोजक संस्था ऋति फाउण्डेसनले बताएको छ ।
सोमबार बिहान १२ बजे उत्सवको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले गर्ने भएका छन् । भोली सोमबार देखि हुने उत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्था ऋति फाउण्डेसनले जनाएको छ । उद्घाटन सत्रमा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेल, भौतिक पूर्वाधार तथा शहरी विकास राज्यमन्त्री गमता वि.क, केवलप्रसाद भण्डारी, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारीका उप्रेती, कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगी र राजनीतिक चिन्तक आहुतीले उत्सवसँग सम्बन्धित विषयमा प्रस्तुति दिनेछन् ।
उत्सवको पहिलो दिन सोमबार पाँच वटा बहसमूलक सत्र सञ्चालन हुनेछन्। जसमा के पढ्यौं के पढायौं, स्वाइनी स्वर (कर्णालीमा महिला आन्दोलन), खस कुडा, खास कुडाः किस्सा तन्नेडीका , बैकिनी बोल्लिछन् (नारी नेतृत्व) रहेका छन्। । सत्रहरूको बीचमा ‘पैकेलो’ (कुनै व्यक्तिले आफ्नो कथा आफैं भन्ने) सेसन रहनेछ । तीन दिनसम्म हरेक दिन एउटा ‘पैकेलो’ सेसन सञ्चालन गरिनेछ।
उत्सवको दोस्रो दिन मंगलबार स्याउको सह, आशलाग्दो अर्थतन्त्र, छोरीको छहारी, टेको संघीयताको र कर्णालीमा मधेश सत्र सञ्चालन हुनेछन्। । यस्तै तेस्रो तथा अन्तिम दिन खलंगाः शक्तिको सदरमुकाम, चौघान–चर्चा, राजनीतिः रहर–लहड, मनउँदो कर्णाली, मैदानउँदो कर्णाली सत्रहरूका साथै साँझ ५ बजे समापन समारोह हुन ऋति फाउण्डेसनका अध्यक्ष कमलराज लम्सालले जानकारी दिए । यस वर्षको छैटौं संस्करणमा दोस्रो र तेस्रो दिन एक–एक विद्वत् प्रवचन पनि रहने बताइएको छ । तीन दिनसम्म चल्ने उत्सवको साँझपख कर्णाली कन्सर्ट आयोजना गरिनेछ । जसअन्तर्गत पहिलो दिन देउडा साँझ, दोस्रो दिन सांस्कृतिक साँझ र तेस्रो दिन गजल साँझ सञ्चालन गरिनेछ ।

फरकबाटो ४ फाल्गुन २०८१, आईतवार २१:१७