भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य


सुर्खेत । इण्डियन आयल कर्पोरेशन (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । प्रत्येक महिनाको १ र १५ तारिखमा आउने मूल्य सूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य घटेर आएको नेपाल आयल निगमले जानकारी दिएको छ ।

निगमका अनुसार नयाँ मूल्यसूचीमा डिजेलको मूल्य प्रतिलिटर ६.८२ रुपैयाँ घटेर आएको छ । यस्तै, पेट्रोलको मूल्य प्रतिलिटर १.७४ रुपैयाँ घटेर आएको छ । यससँगै, डिजेलको खरिद लागत प्रतिलिटर १५२.१७ रुपैयाँ र पेट्रोलको खरिद लागत प्रतिलिटर १६८.१२ रुपैयाँ कायम भएको छ ।

हाल बजारमा डिजेलको बिक्री मूल्य प्रतिलिटर १७५ रुपैयाँ र पेट्रोलको बिक्री मूल्य प्रतिलिटर १७८ रुपैयाँ कायम छ । भारतबाट आएको नयाँ मूल्यसूचीअनुसार नेपाली बजारमा डिजेलमा निगमलाई प्रतिलिटर २२.८३ रुपैयाँ र पेट्रोलमा ९.८८ रुपैयाँ फाइदा रहेको छ ।

खाना पकाउने एलपी ग्यासको मूल्यसमेत घटेर आएको छ । आईओसीको नयाँ मूल्यसूचीअनुसार एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ९६ रुपैयाँ घटेर आएसँगै घाटा ५ सय रुपैयाँमा आइपुगेको छ । हाल निगमले एलपी ग्यास प्रतिसिलिन्डर १८ सय रुपैयाँमा बेच्दै आइरहेको छ ।