नवौं राष्ट्रिय खेलकुद सम्पन्न, कर्णालीमा भेट्ने बाचा

पोखरा । गण्डकी प्रदेशमा आयोजना भएको नेपाली खेलकुदको कुम्भमेला नवौं बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । गण्डकी प्रदेशको राजधानी पोखरा रंगशालामा बिहीबार विशेष समारोहकाबीच नवौं राष्ट्रिय खेलकुदको समापन गरिएको हो ।

‘एकताबद्द देश, खेलकुदको सन्देश’ भन्ने नाराको साथ आयोजना भएको नवौं राष्ट्रिय खेलकुद परिषद् (राखेप)का संरक्षक तथा प्रधानमन्त्री शेर बहादुर देउवाको उपस्थितिमा समापन भएको हो । नवौंको उद्घाटन भने उपराष्ट्रपति नन्दबहादुर पुनले गरेका थिए ।

समापनमा दशौं संस्करणको राष्ट्रिय खेलकुदको आयोजक कर्णाली प्रदेशलाई झण्डा हस्तान्तरण गरिएको थियो । दशौं संस्करणको राष्ट्रिय खेलकुद २०८१ सालको मंसिरमा आयोजना हुनेछ । प्रधानमनन्त्री देउवाले प्रतियोगिता आयोजनाको झण्डा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बिसीलाई हस्तान्तरण गरे ।

समापनमा टिम च्याम्पियन बनेको नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ट्रफी प्रदान गरिएको थियो । प्रधानमन्त्री देउवाले नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापालाई ट्रफी प्रदान गरे । पहिलो पटक राष्ट्रिय खेलकुदको टिम च्याम्पियनका लागि ट्रफी बनाईएको हो।

आर्मी १ सय ७२ स्वर्ण पदकसहित सर्वाधिक ३ सय ७१ पदक जितेर टिम च्याम्पियन बनेको हो । यस्तै समापनमा मार्चपास, झाँकी, नृत्य, गायन लगायत आतिसबाजी गरिएको थियो ।

नवौंमा ११ टिमका ६ हजार १ सय ५७ खेलाडीले प्रतिस्पर्धा गरेका थिए  । जसमा खेलाडीले ३ सय ९७ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरेका थिए ।

यस पटक विभागिय टोलि नेपाल पुलिस, नेपाल एपीएफ र नेपाल आर्मी सहित सात प्रदेशका सात टिम र एनआरएनए गरि ११ टिमका खेलाडीले सहभागिता जनाएका थिए । यस पटक ३६ खेलका ३ सय ९६ इभेन्ट्समा खेलाडीले प्रतिस्पर्धा भएको थियो ।