चितवनमा डेङ्गीबाट एक महिलाको ज्यान गयाे

चितवन । डेङ्गीको सङ्क्रमणबाट चितवनमा एक महिलाको ज्यान गएकाे छ । राप्ती नगरपालिका–७ की ४० वर्षीया महिलाको डेङ्गीबाट ज्यान गएकाे हाे ।

स्वास्थ्य कार्यालयका अनुसार स्थानीय मौलाकालिका पोलिक्लिनिकमा परीक्षणका क्रममा ती महिलामा डेङ्गी पुष्टि भएको थियो । उहाँको उपचारका क्रममा चितवन मेडिकल कलेजमा ज्यान गएकाे कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिनुभयो ।  यसअघि यही असोज २ गते रत्ननगर नगरपालिका–१ का २७ वर्षीय पुरुषको डेङ्गीका कारण ज्यान गएकाे थियाे ।

चितवनमा अहिलेसम्म सात सय ४३ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । उनीहरुमध्ये चार सय ५९ चितवनका छन् । बाहिरी जिल्लाका एक सय ७५ र ठेगाना नखुलेका एक सय नौ जना रहेका छन् । चार हजार चार सय ४९ जनाको परीक्षणका क्रममा उनीहरुमा डेङ्गी सङ्क्रमण पुष्टि भएको कार्यालयले जनाएको छ ।