साउदीले पुरानै प्रक्रियाबाट कामदार लैजाने


सुर्खेत । नेपालस्थित साउदी अरेबियाको दूतावासले पुरानै प्रक्रियाबाट वैदेशिक रोजगारमा जाने नेपाली कामदारलाई भिसा दिने बताएको छ । दूतावासले जुन १२ तारिख अर्थात सोमबारदेखि रोजगारीका लागि साउदी अरेबिया जाने कामदारहरूले परराष्ट्र मन्त्रालयअन्तर्गत कन्सुलर सेवा विभागबाट प्रमाणीकरण गरेको शैक्षिक प्रमाणपत्र पेश गर्नुपर्ने सूचना दुई साताअघि जारी गरेको थियो ।

साउदी जाने कामदारको योग्यता तोक्ने काम दूतावासको नभई कामदारलाई रोजगारी दिने कम्पनीको विषय भएको भन्दै शैक्षिक प्रमाणपत्र माग गरेको विषयमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघ विरोध गदै आएको थियो ।

दूतावासको नीति आर्थिक र व्यवहारिक दृष्टिकोणले समेत अनुचित र झन्झटिलो रहेकोे विषयमा छलफल भएपछि पुरानै प्रक्रियाले भिसा प्रदान गर्ने सहमति भएको संघले जनाएको छ ।

दूतावासले माथिल्ला पदहरूमा यसअघि पनि शैक्षिक प्रमाणपत्र र तालिम लगायतका योग्यता खुल्ने कागजात माग गरिने विषय यथावत रहेपनि लेबर भिसामा शैक्षिक प्रमाणपत्र माग नगरेको जवाफ व्यवसायी र परराष्ट्र मन्त्रालयलाई दिएको थियो ।

यही साता भएको छलफलपछि साउदी दूतावासले पुरानै प्रक्रियाले नेपाली कामदारलाई भिसा प्रदान गर्न सहमति जनाएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघको साउदी समस्या समाधान समितिका संयोजक वैकुण्ठ प्रसाद पौडेलले जानकारी दिए । साउदी रोजगारीमा जाने कामदारका हकमा तत्काल शैक्षिक प्रमाणपत्र आवश्यक नभएको उनको भनाइ छ ।