मन्त्रालयको भागबण्डामा कांग्रेसको भागका आठ मन्त्रालय

सुर्खेत । नेपाली कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पठाउने नेताहरुको मन्त्रालय करिब टुंगो गरेको छ । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलपछि सभापति शेरबहादुर देउवाले मन्त्री र तिनले सम्हाल्ने मन्त्रालयको नाम करिब पक्का गरेका हुन्।

देउवाले कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतलाई अर्थमन्त्रीका रुपमा सरकारमा पठाउने भएका छन् । त्यसैगरी केन्द्रीय सदस्य एनपी साउद सहरी विकास मन्त्री बन्ने भएका छन् ।

उपसभापति धनराज गुरुङले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्हाल्ने भएका छन् । केन्द्रीय सदस्य मोहन बस्नेतलाई स्वास्थ्य मन्त्रालयको जिम्मा दिइने भएको छ ।

त्यसैगरी सांसद डिगबहादुर लिम्बुले कानुन मन्त्रालय सम्हाल्ने भएका छन् । उता तेह्रथुमबाट प्रत्यक्षमा विजयी सांसद सीता गुरुङले भूमि व्यवस्था मन्त्रालयले पाउने भएकी छन् ।

उता रक्षा र परराष्ट्र मन्त्रालयमा भने कुरा मिल्न बाँकी रहेको एक नेताले बताएका छन् । उनका अनुसार उपसभापति पूर्णबहादुर खड्का र नेता रमेश रिजाललाई दिने दुई मन्त्रालयको टुंगो लाग्न बाँकी छ ।

खड्काले कांग्रेसबाट सरकारको नेतृत्व गर्दै उपप्रधानमन्त्रीको पनि भूमिका निर्वाह गर्ने छन् । उनलाई रक्षा मन्त्रालयमा पठाउने तयारी थियो ।

तर खड्का र रिजालले परराष्ट्र र रक्षा कुन सम्हाल्ने भन्ने टुंगो लाग्न बाँकी भएको छ । देउवाले रिजाललाई परराष्ट्र मन्त्रीका रुपमा अघि सार्ने तयारी गरेका थिए । तर खड्कासँग छलफलपछि परराष्ट्र र रक्षाको टुंगो देउवाले गर्ने भएका छन् ।

उता नेकपा माओवादी केन्द्रबाट हाल भौतिक मन्त्रालय सम्हालिरहेका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गृहमन्त्रालय सम्हाल्ने छन् ।

रवि लामिछानेले गत माघ १३ गते सांसद र मन्त्री दुवै पद गुमाएयता यो मन्त्रालय खाली छ । अहिले प्रधानमन्त्री प्रचण्डले गृह र रक्षासहित १६ वटा मन्त्रालय आफैंले सम्हालेका छन् ।

त्यसैगरी अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा रहेका अमनलाल मोदीको ऊर्जा मन्त्रालयमा सरुवा गरिने भएको छ ।