ग्याँस सिलिण्डर बोकेको ट्रक दैलेखमा दुर्घटना :  तिनजनाको मृत्यु


सुर्खेत । गुराँस गाउँपालिका ४ तालपोखरी दैलेखमा मनकामना ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । नेपालगञ्जबाट दैलेख जाँदै गरेको भे १ ख २२०१ नम्बरको ट्रक बुधवार बिहान ८ः४० बजेको समयमा दुर्घटना भएको हो ।
दुर्घटनामा चालक र दुईजना कामदारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । चालक, सह-चालक र दुईजना कामदार सवार ट्रक चिप्लिन थालेपछि सहचालक प्रकाश कुमाई भने ट्रकबाट झरेको प्रहरीको भनाई छ ।

दुर्घटनामा मृत्यु हुनेहरुमा ट्रक चालक बाँके घर भएका कृष्ण चौधरी, कामदारहरु विष्णु चौधरी र लक्षीराम चौधरी रहेको प्रहरीको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी एवम् प्रहरी नायव उपरीक्षक किसोर लम्सालका अनुसार ट्रक करिब सडकदेखी १ सय ५० मिटर तल खसेको र घटना स्थलमा प्रहरीको टोली पुगिसकेको छ ।