
सुर्खेत । दैलेखको भैरवी गाउँपालिका वडा नं. ४ लिउडामा घरभित्रै जलेको अवस्थामा एक जना पुरुषको शव फेला परेको छ । हिजो राति भएको आगलागीको विस्तृत विवरण तयार गर्न गएको बेला घरधनी ४५ वर्षीय नरेक विकको शव जलेको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
शनिवार राति साढे ८ बजेतिर घरमा आगो लागेको देखेपछि स्थानीयवासी र भैरवी प्रहरी चौकीबाट खटिएको टोलीले आगो निभाएको थियो । आज आइतवार बिहान आगलागीको क्षतिको विवरण तयार गर्न लाग्दा घरधनी मृत अवस्थामा फेला परेका इलाका प्रहरी कार्यालय दुल्लूका इञ्चार्ज एवम् प्रहरी निरीक्षक कृष्ण डाँगीले बताएका छन् ।
घरको भित्रपट्टिको कोठामा कम्मरमुनिको भाग ढुङ्गाले च्यापिएको र माथिको शरीर पहिचान गर्न मुस्किल पर्ने गरी जलेको अवस्थामा फेला परेको छ ।
जेठी छोरी सुनिताले पुस १८ गते बिहान आत्महत्या गरेको कुरा एक महिनाअघि भारतको गढवालमा रहँदा नरेशलाई खबर गरेपछि आफू नआउँदासम्म शव त्यस्तै राख्न भनेकोमा प्रहरी मुचुल्का, अस्पतालमा पोस्टमार्टम र दाहसंस्कारसमेत त्यही दिन गरेको कुरामा नरेशको विमति थियो ।
आफू नआउँदासम्म छोरीको शव ‘त्यस्तै रहनदिनू’ भनेँ तर किन जलाएको रु अब सबैको ज्यान लिन्छु भनेर धम्काएका कारण शनिवार सुनिताको काजकिरिया सकिएलगत्तै श्रीमती सुना र छोराछोरी छिमेकी छुपाराम विकको घरमा गएका बेला नरेश आफैँले घरमा आगो लगाएको र जलेर ज्यान गएको अनुमान गरेको भैरवी ४ का वडाध्यक्ष चक्रप्रसाद शर्माले बताएका छन् ।
श्रीमति र छोराछोरीलाई निरन्तर कुटपिट गरिरहने र फोन गरेर धम्की दिएको जानकारीका आधारमा नरेश आफैँले घरमा आगो लगाएको र केही सामान लिन जाँदा त्यही जलेको हुन सक्ने दुल्लूका प्रहरी निरीक्षक कृष्ण डाँगीले बताए ।
नरेशले श्रीमति र छोराछोरीलाई कुटपिट गरिरहने कारणले छोरीले आत्महत्या गरेको र यही घटनासँग जोडिएर घरमा आगजनी र ज्यान गएको कुरा प्रारम्भिक अनुसन्धानबाट खुलेको र थप अनुसन्धान चलिरहेको उनको भनाइ छ ।

फरकबाटो २४ पुष २०७९, आईतवार १८:४३