काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस नेता प्रदीप गिरिबाट निःस्वार्थ राजनीतिको प्रेरणा लिनुपर्ने बताएका छन्।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पुगेर गिरिको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्दै प्रचण्डले गिरीको प्रेरणाबाट समाजवादको शिक्षा लिनुपर्ने बताए।
गिरिबारे प्रचण्डले भने, ‘उहाँको योगदान र प्रेरणाबाट समाजवादको लागि जे जति चिन्तन गर्नुभयो। त्यसबाट शिक्षा लिएर अगाडि बढ्नुको विकल्प छैन। राजनीतिमा जुन विचलन देखा परेको छ। प्रदीप गिरिको व्यक्तित्वले हामीलाई निःस्वार्थ राजनीतिमा समाज सेवामा समर्पित हुने राजनीतिलाई फोहोरी खेल होइन जनता र राष्ट्रको सेवाको माध्यम भन्ने प्रेरणा लिनुपर्छ।’
भारतको मुम्बईमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल आउनासाथ निमोनिया देखिएपछि गत साउन ९ गते ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना भएका नेता गिरिको अस्पतालमै शनिबार राति ९.३० बजे निधन भएको थियो।
स्व गिरीको पार्थिव शरीर अहिले बिहान ९ बजेदेखि ११ बजेसम्म मेडिसिटी अस्पताल प्राङ्गणमा रहेको शिवालय मन्दिरमा श्रद्धाञ्जलीका लागि राखिएको थियो भने ११:३० बजेदेखि दिउँसो २:०० बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिनेछ।
फरकबाटो ५ भाद्र २०७९, आईतवार १३:५८