एमालेलाई संसद अवरोध नगर्न सर्वदलीय बैठकको आह्वान

काठमाडौं । संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुले प्रमुख विपक्षी दल नेकपा एमालेलाई संसद अवरोध नगर्न आह्वान गरेका छन् ।

आइतबार बसेको सर्वदलीय बैठकले आफ्ना सहमति प्रकट गर्ने नाममा जननिर्वाचित संसदलाई बन्धन नबनाउन एमालेलाई आग्रह गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

‘विरोध गर्ने र असहमति प्रकट गर्ने मूल थलो संसद नै हो तर जननिर्वाचित संस्थालाई लामो समय बन्धक बनाउनु उचित होइन’ कार्कीले बैठकको निष्कर्ष सुनाउँदै भनेका छन्, ‘प्रतिपक्षले उठाएको विषयमा संवाद गर्न र उपयुक्त सहमति खोज्न सरकार तयार छ ।’

एमाले केन्द्रीय समितिले आफ्ना सांसदहरुलाई गरेको कारबाहीलाई सभामुखले मान्यता नदिएको भन्दै नेकपा एमालेले लगातार संसद अवरोध गरिरहेको छ ।

सर्वदलीय बैठकले संघीय संसद निरन्तर अवरुद्ध हुँदा जनताका आवाज संसदबाट उठ्न नसकेको निष्कर्ष निकालेको छ । ‘संसदीय लोकतन्त्रलाई जिवन्त राख्न प्रतिपक्षको भूमिका महत्वपूर्ण छ, तर त्यसको मतलब संसद चल्न नदिने भन्ने होइन’ कार्कीले भने ।