पृथ्वी शाहमाथि ४ वटा मुद्दा चलाउनुपर्ने सीआईबीको सुझाव


सुर्खेत । ठगीको आरोपमा जेल चलान भएका पृथ्वीबहादुर शाह र उनको समूहमा रहेका १९ जनाविरुद्ध चार वटा मुद्दा चलाउनुपर्ने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सुझाव दिएको छ । सीआईबीले बुधवार काठमाण्डौमा पत्रकार सम्मेलन गरी शाह, उनका भाइ विजयविक्रम शाहसहितका समूहलाई व्यक्तिविरुद्ध ठगी, लिखतसम्बन्धी कसुर, सहकारी ठगी र सङ्गठित अपराधविरुद्ध मुद्दा चलाउनुपर्ने अनुसन्धानबाट खुल्न आएको जानकारी गराएको हो ।

अमेरिकी नागरिक ठगिएको उजुरी नेपालमा रहेको अमेरिकी राजदूतावासले नै जानकारी गराएपछि पृथ्वीबहादुर शाहसहितका सात जनालाई पक्राउ गरी अनुसन्धान गरिएको थियो । अनुसन्धानमा उनीहरूले ठगीबाट आर्जन गरेको सम्पत्ति घरजग्गालगायतको कारोबारमा लगानी गरेको पनि खुल्न आएको सीआईबीका प्रवक्ता एवम् प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए । त्यस घटनामा संलग्न पृथ्वीसहित सात जना पक्राउ परेका छन् भने अन्य १३ जना फरार रहेका छन् ।

घटनामा संलग्न सबैलाई पीडितलाई क्षतिपूर्ति दिलाई सात वर्ष कैद र ७० हजार रुपैयाँ जरिबाना हुने कानुनी व्यवस्था गरेको पनि प्रवक्ता थापाले बताए । उनले उनीहरूमाथि सहकारी ऐनअनुसार छुट्टै दण्ड सजायको व्यवस्था पनि हुन सक्ने कानुनी व्यवस्था गरेको सुनाए ।

उनीहरूले ठगीबाट आर्जित रकम ३८ करोड ८६ लाख ६२ हजार एक सय ३६ रुपैयाँ रहेको खुल्न आएको छ । उनीहरूविरुद्ध अहिलेसम्म २४ जना पीडितले नेपालमा रहेको अमेरिकी दूतावासमार्फत उजुरी दिएका छन् । केही क्यानेडियन र बेलायती नागरिक पनि उनीहरूबाट पीडित भएको खुल्न आएको र अनुसन्धानको कामलाई सुरु गरिएको पनि प्रहरीले जनाएको छ । उनीहरूले अमेरिकी नागरिकसँग अमेजनको बिल भुक्तानी, एन्टी भाइरस अपडेटलगायतका विभिन्न निहुँमा रकम ठगी गर्ने गरेका थिए । ठगीमा पर्नेहरूमा प्रायः वृद्धवृद्धा रहेका प्रवक्ता थापाले बताए ।

शाहको समूहले ठगी गरी नेपाल ल्याएको रकममध्ये एक करोड २८ लाख ९३ हजार ८५ रुपैयाँ बैंकहरूले रोक्का गरिदिएको पनि सीआईबीको अनुसन्धानमा उल्लेख गरिएको छ ।