परराष्ट्र मन्त्री पौड्यालको जेनेभा भ्रमण प्रधानमन्त्री कार्यालयबाट रोकियो


सुर्खेत । परराष्ट्र मन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अन्तिम समयमा रोकिदिएका छन् । आज आइतवार बेलुकी ६ बजे जेनेभा जान लागेकी पौड्यालको भ्रमण दिउँसो साढे ३ बजेतिर प्रधानमन्त्री कार्यालयबाट फोन आएपछि रोकिएको मन्त्री पौड्यालकी सञ्चार संयोजक यशोदा अधिकारीले जानकारी दिइन् ।

यसअघि आजै बिहान ११ बजे पत्रकार सम्मेलन गरेर मन्त्री पौड्यालले आफू जेनेभा जान लागेको जानकारी दिइन् । परराष्ट्र मन्त्री विमला राई पौड्याल संयुक्त राष्ट्र सङ्घीय मानव अधिकार परिषद्को बैठकमा भाग लिन जेनेभा जान लागेकी थिइन् । बैठकमा नेपालले मानव अधिकारको क्षेत्रमा हासिल गरेको उपलब्धिबारे सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्री पौड्यालले बताएकी थिइन् ।

मन्त्री पौड्याल बैठकमा भाग लिएर कतारको दोहामा हुने अतिकम विकसित राष्ट्रहरूको सम्मेलनमा सहभागी हुने कार्यक्रम पनि थियो ।