ग्यास लिक हुँदा जुम्लामा आगलागी


सुर्खेत । जुम्लामा ग्यास चुहिएर एक घरमा आगलागी भएको छ । चन्दननाथ नगरपालिका ६ बसपार्कमा रहेको मेघराज न्यौपानेको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

प्रहरी निरीक्षक तथा सूचना अधिकारी धर्मराज जोशीका अनुसार न्यौपानेको तीन तले घरको भुइँतलामा आगलागी हुँदा चार वटा कोठा, कोलिया र माथिल्लो तला जाने भर्‍याङमा क्षति पुगेको छ । यस्तै, आगलागी हुँदा दोस्रो र तेस्रो तलामा रहेका ५ जनाको उद्धार गरिएको छ । नयाँ बनिरहेको घरबाट भर्‍याङ लगाएर उनीहरुको उद्धार गरिएको निरीक्षक जोशीले बताए ।

प्रहरी निरीक्षक जोशीका अनुसार घटनाको जानकारी भएपछि स्थानीय, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको हो । समयमै उद्धार हुँदा ठूलो क्षति हुनबाट जोगिएको उनको भनाइ छ ।

प्रहरीका अनुसार त्यस घरमा भाडामा बसेका नवराज खड्का खाना पकाउँदै गर्दा ग्यास चुहावटका कारण रेगुलेटरमा आगो सल्केर आगलागी भएको हो । आगो निभाउन खोज्दा ग्यास ढलेको र अन्य कपडामा आगो सरेपछि थप आगजनी भएको नवराज खड्काको भनाइ छ ।