सुर्खेत। भ्रष्टाचार विरुद्ध कर्णाली प्रदेशस्तरीय युवा सम्मेलन आयोजना गर्न थालिएको छ । बास नेपाल कर्णाली प्रदेश समितिले सम्मेलन आयोजना गरेको हो । यो सम्मेलनलाई ऐतिहासिक युवा सम्मेलन भनिएको छ ।
मुलुकमा भ्रष्टाचारजन्य गतिविधि विकराल बनेको भन्दै यसका विरुद्ध जनचेतना जगाउन सम्मेलन आयोजना गरिएको बास नेपालले जनाएको छ । आयोजकका अनुसार कर्णालीका १० जिल्लाबाट पाँच सय बढी युवाहरुको सहभागितामा सम्मेलन गर्न लागिएको हो ।
सम्मेलनको प्रमुख अतिथिको रुपमा मुख्यमन्त्री जीवन बहादुर शाही, अन्य अतिथिहरु नेपाल सरकारका पूर्व सचिव तथा राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख आयुक्त कृष्णहरी बास्कोटो लगायतको समुपस्थित रहने बासका प्रदेश संयोजक धीरेन्द्रकुमार शाहीले बताए । सम्मेलनमा कर्णाली प्रदेश सरकार, स्थानीय तह, गैरसरकारी संस्थाका प्रमुख एवंम् प्रतिनिधिहरुको सहभागिता हुने छ । सम्मेलनले भ्रष्टाचार विरुद्ध कर्णाली प्रदेश घोषणा पत्र २०७९ जारी गर्नेछ ।
सम्मेलन आयोजनाको व्यवस्थापन खर्च चार लाख २३ हजार हुने अनुमान गरिएको छ । यसका लागि बास नेपालले विभिन्न निकाय र संघसंस्थासँग समन्वय तथा सहकार्य गरी खर्च जुटाएको हो ।
फरकबाटो २४ पुष २०७९, आईतवार १९:३२