खानेपानीमा विश्व बैंकको १० अर्ब ४० करोड ऋण सहयोग

सुर्खेत । खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजनामा विश्व बैंकले १० अर्ब ४० करोड रुपैयाँ (करोड डलर) सहुलियतपूर्ण ऋण सहयोग गर्ने भएको छ । सो आयोजनाको काम औपचारिक रुपमा थालनी समेत गरिएको छ ।

खानेपानी मन्त्री अब्दुल खान तथा माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद जेर्भोसले संयूक्त रूपमा शुक्रबार यस आयोजनाको शुभारम्भ गरेका हुन् ।

विश्व बैंकबाट ८ करोड अमेरिकी डलरको ऋण र नेपालको दुई करोड अमेरिकी डलर बराबरको आन्तरिक लगानीमा कार्यान्वयन हुने यस आयोजनाले सहभागी पालिकाहरूमा सुधारिएको र सुरक्षित खानेपानी तथा सरसफाइ सेवाको पहुँच विस्तार गर्ने मन्त्रालयले जनाएको छ ।

‘संघीयताको सिद्धान्त अनुरूप दिगो र समतामूलक विकास प्रक्रियामा टेवा पुर्‍याउने हेतुले कार्यान्वयन गरिने यस आयोजना सम्बन्धी कार्यक्रमहरूको योजना तर्जुमा र कार्यान्वयन समेत स्थानीय पालिकाहरूबाट सञ्चालन गरिने छ’ मन्त्रालयले एक विज्ञप्तिमार्फत भनेको छ ‘यस आयोजनाले स्थानीय स्तरमा सेवा प्रवाह र सोसँग सम्बन्धित संस्थागत क्षमता सुदृढीकरणलाई जोड दिनेछ ।’