योजना आयोगमा ३ जना सदस्य नियुक्त

सुर्खेत । सरकारले राष्ट्रिय योजना आयोगमा तीन जना सदस्य नियुक्त गरेको छ । सिंहदरबारमा आज सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले सुशील ज्ञवाली, अन्जान शाक्य र कुशेन्द्र शाहीलाई आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यस्तै मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्रालयअन्तर्गत नेपाल र बहराइन अधिराज्यका परराष्ट्र मन्त्रालयबीच दुई पक्षीय परामर्श संयन्त्र स्थापना गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्नेसमेत निर्णय गरेको हो ।

बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत अमरपुर–ढुङ्गेसाँघु १३२ केभी प्रसारण आयोजनाका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउन आयोजनाका इन्जिनियर नितेश यादवलाई अधिकारी तोकेको छ ।

त्यसैगरी परराष्ट्र मन्त्रालयअन्तर्गत नेपाल र युरोपियन युनियनबीचको संयुक्त आयोग र उपआयोगको बैठक नेपाल बेल्जियम दुई पक्षीय संयन्त्रको बैठकको सम्बन्धमा परराष्ट्र सचिवले नेतृत्व गर्ने निर्णय गरेको छ ।