चेतन हत्या आरोपमा वडाध्यक्ष जुद्ध ऐडी प्रक्राउ

सुर्खेत । बाजुरा अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन ऐडीको हत्या आरोपमा वडा नं .७ का अध्यक्ष जुद्ध बहादुर ऐडी प्रक्राउ परेका छन् ।

त्रिवेणी नगरपालिका– ७ बस्ने अनेरास्ववियूका केन्द्रीय सदस्य चेतनका आफन्तले हत्यामा संलग्न भएको भन्दै वडाध्यक्षसहित २२ जनाविरुद्ध किटानी जाहेरी दिएको थियो ।

चेतन मृत्यु प्रकरणमा किटानी जाहेरी परेपछि वडाध्यक्षलाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख सुर्य थापाले जानकारी दिए।

वडाध्यक्ष जुद्ध बहादुर त्रिवेणी नगरपालिका– ७ स्थित नाटेश्वरी मन्दिरमा दलित पसेको भन्दै कुटपिट आरोपमा एक महिना पहिले जिल्ला अदालत बाजुराबाट एक लाख धरौटिमा छुटेका थिए ।

वडाध्यक्षसहित अन्य तीन जना पनि १ लाख धरौटीमा छुटेका थिए । वडाध्यक्ष ऐडी नेपाली काँग्रेसबाट निर्वाचित भएका हुन् । त्रिवेणी–७ को नाटेश्वरी आधारभुत विद्यालयमा मतदानको विवादलाई लिएर दुई जनाको मृत्यु भएको थियो ।

मंसिर ४ गते दिउँसो मतदानको समयमा नेपाली काँग्रेसका कार्यकर्ताले बुथ कब्जा गर्न खोजेपछि सुरक्षाकर्मीले गोली चलाउँदा काँग्रेसका कार्यकर्ता सञ्जिब ऐडीको मृत्यु भएको थियो भने ४ गते साँझ त्रिवेणी–७ बस्ने अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन ऐडीको काँग्रेस कार्यकर्ताको कुटपिटबाट मृत्यु भएको थियो ।