परिवारसँग बिछोडिदै बालबालिका, जिम्मेवार को ?

सुर्खेत । ‘बालबालिका रहरले सडकमा आएका होइनन् । बालबालिकाहरु सडकमा आउनुमा उनीहरुको परिवार र राज्यपनि जिम्मेवार छ ।’ दलित महिला संघ सुर्खेतकी अध्यक्ष मञ्जु सुनारले अन्तरजातीय विवाह र बैदेशिक रोजगार पछिल्लो समय दम्पतीको सम्बन्ध विच्छेदको कारण बनेको बताईन् ।

सोहि सम्बन्ध विच्छेदकै कारण बालबालिकाहरु सडकमा आउन बाध्य बनेको उनले सुनाईन् । ‘बालबालिका परिवारसँग बिछोडिएपछि आउने सडकमा नै हो ’ उनले भनिन् “ सडकमा आएका बालबालिका लागुऔषध सेवन र अन्य अपराधमा संलग्न छन् ।” यसमा राज्यको मौनता रहेको सुनारले बताईन् । वडा स्तरबाटै बालबालिकाहरुको अवस्था र जिम्मेवारीका सम्बन्धमा राज्य संवेदनशिल भएको खण्डमा बालबालिका अपराधमा संलग्न नहुने उनले तर्क गरिन् ।

जिल्ला प्रहरी कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र (महिला सेलका) प्रमुख डिला विकको समेत तर्क उस्तै छ । उनले बालविवाह र बहुविवाहका कारण बालबालिका आमा बुवाबाट विछोड हुनुपरेको सुनाईन् ।

सोमबार वीरेन्द्रनगरमा आयोजना गरिएको बाबु–आमाबाट बाल बिछोड रोक्न स्थानीय र प्रदेश सरकारको जिम्मेवारी विषयक पैरवी कार्यक्रममा सहभागी उनीहरुले यस्तो बताएका हुन् । बालबालिकाहरु सडकमा आउनु र अपराधमा संलग्न हुनुमा राज्य समेत जिम्मेवार रहेको कार्यक्रममा सहभागीहरुको भनाई रहेको थियो ।

आवाज संस्था सुर्खेतले आयोजना गरेको कार्यक्रम समाज सेवा तथा मानवअधिकारमा महिला र बालबालिका (सिविस) लगाएतका संस्थाहरुले समन्वय गरेका थिए । उमेर नपुगी विवाह गर्नु, पारिवारीक द्धन्द्ध बढ्दै जानु र राज्य समेत निरिह बन्दा बालबालिकाहरु सडकमा आउन बाध्य भएको कार्यक्रमका सहभागीहरुले बताएका हुन् ।

बालबालिकाहरुलाई सडकमा आउनै नदिनका लागि र आइसकेपछि पुर्नस्थापना लागि समेत सबै तहबाट काम गर्नुपर्ने कार्यक्रममा सहभागीहरुको भनाई रहेको थियो ।

कार्यक्रममा सहभागी प्रहरी निरिक्षक लालबहादुर सुनारले समेत चरम गरिबी, चेतनाको कमी, बाह्य संकृतीको प्रभाव जस्ता कारणले बालबालिकाहरु टुहुरा बन्ने गरेको बताए ।  समाजमा नैतिक शिक्षाको समेत आवश्यकता रहेको उनको भनाई छ ।

नेपालको संविधान २०७२ तथा बालबालिका सम्बन्धी ऐन २०७५ लगाएतका ऐनले बालबालिकाहरुको अधिकारलाई सुरक्षित गरेपनि कार्यान्वयनमा भने कमजोर भएको कार्यक्रमका सहभागीहरुले बताएका थिए ।

कार्यक्रममा बोल्दै आवाज संस्था सुर्खेतका कार्यकारी निर्देशक पवित्रा शाहीले बालबालिकाको संरक्षणको लागि राज्य जिम्मेवार हुनुपर्ने सुझाव दिइन् । उनले सबैभन्दा ठुलो समस्याको रुपमा रहेको बालविवाहलाई रोक्न सके मात्र पनि आमाबाबुबाट बालबालिका विछोड हुने समस्या कम हुने तर्क गरिन् ।

वीरेन्द्रनगर नगरपालिका सुर्खेतकी उपप्रमुख मोहनमाया ढकालले सरकारले नीति र कानुन बनाएर समस्या समाधान गर्ने बताईन् । उनले वीरेन्द्रनगर नगरपालिकाले छोरीबचत खाता लगायतका कार्यक्रम संचालन गरेको भन्दै परिवारसँग  विछोडिएका बालबालिकाहरुका लागि समेत कार्यक्रम ल्याउने प्रतिवद्धता व्यक्त गरिन् । कार्यक्रम भोलीसम्म सञ्चालन हुनेछ ।