लिमीमा खाद्यान्न ओसार्न सेनाको हेलिकप्टर हुम्ला

सुर्खेत । खाद्यान्न माग्दै जनप्रतिनिधिहरू काठमाण्डौ पुगेपछि हुम्लाको नाम्खा गाउँपालिका वडा नम्बर ६ लिमीमा खाद्यान्न पु¥याउन नेपाली सेनाको हेलिकप्टर हुम्ला सदरमुकाम सिमकोट पुगेको छ ।

आइतवार दिउँसो सिमकोट पुगेको हेलिकप्टरमा ११ क्विन्टल चामल लोड गरिएको र सोमवार बिहानै लिमीमा जाने नाम्खा गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष पाल्जोर तामाङले जानकारी दिए । बिहान सिमकोटबाट चामल लिएर लिमी जाने र त्यसपछि हिल्साबाट खाद्यान्न ओसार्ने उनले बताए ।

हिस्लामा चीनले राहत स्वरूप दिएको चार हजार पाँच सय बोरा मैदा र झन्डै आठ सय बोरा चामल छ । हिल्साबाट लिमी आउने बाटोमा बाक्लो हिउँ जमेका कारण चीनले दिएको खाद्यान्न ल्याउन नसकेको उनले बताए । लिमीबाट हिल्साको हवाई दुरी छोटो भएकाले हेलिकप्टरले त्यहाँ रहेको सबै खाद्यान्न ओसार्ने आशा रहेको वडाध्यक्ष तामाङले जानकारी दिए ।

लिमीमा खाद्यान्न सकिएर भोकमरी सुरु भएपछि वडाध्यक्षसहित पाँच जना स्थानीयवासी हिउँ पन्छाउँदै सदरमुकाम आएका थिए भने वडाध्यक्ष तामाङ काठमाण्डौं गएर पहल गरेका थिए ।

चीनसँग जोडिएको हुम्लाको अत्यन्तै विकट नाम्खा गाउँपालिकामा आलु र उवा मात्रै उत्पादन हुन्छ । यसबाट यहाँका बासिन्दाले मुस्किलले दुई÷तीन महिना कटाउँछन् । नाम्खाको अति विकट गाउँ तिल, जाङ र हल्जीका झण्डै पाँच सय जनसंख्या भोकमरीको चिन्तामा छन् ।