यातायात व्यवस्था कार्यालय  सुर्खेतबाट घुस रकमसहित दुईजना पक्राउ

सुर्खेत । यातायात व्यवस्था सेवा कार्यालय कर्णाली प्रदेश, सुर्खेतबाट घुसरकमसहित दुईजना पक्राउ परेका छन् । वीरेन्द्रनगर ७ मा रहेको यातायात व्यवस्था कार्यालय कर्णाली प्रदेश, सुर्खेतमा कार्यरत मेकानिकल इन्जिनियर दिपक बम र बिचौलिया निरकबहादुर शाही पक्राउ परेका हुन् ।

सेवाग्राहीसँग विलबुक नविकरण, जाँचपास नविकरण र रुट पर्मिट नविकरण गरिदिनको लागि घुस माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतबाट गएको टोलीले विचौलिया नीरक बहादुर शाही र मेकानिकल इन्जिनियर दिपक बमलाई सेवाग्राहीबाट .३,००० (तीन हजार रुपैयाँ) घुससहित पक्राउ गरेको हो ।

अख्तियारबाट गएको टोलीले उनीहरुलाई घुस रकम लिइसकेको अवस्थामा उक्त रकम सहित यातायात व्यवस्था सेवा कार्यालय, सुर्खेतको परिसरबाटे नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको कार्यालयका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए ।