जसपाबाट सरकारमा जाने मन्त्रीहरुबारे निर्णय गर्ने जिम्मेवारी पार्टीको राजनीतिक समितिलाई


सुर्खेत । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले सरकारमा जाने मन्त्रीहरुबारे निर्णय गर्ने जिम्मेवारी पार्टीको राजनीतिक समितिलाई दिएको छ ।

शनिबार बालकुमारीमा रहेको केन्द्रीय कार्यालयमा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरुबारे निर्णय गर्ने जिम्मेवारी राजनीतिक समितिलाई दिएको हो ।

यही पुस १८ र १९ गते जसपाले राजनीतिक समितिको बैठक बोलाएको छ । त्यही बैठकले आवश्यक निर्णय गर्दै सरकारमा सहभागी हुने मन्त्रीहरु तय गरिने निर्णय केन्द्रीय कार्यकारिणी समिति बैठकले गरेको पार्टीका प्रवक्ता मनिष सुमनले जानकारी दिए ।

बैठकमा चुनावको समीक्षा गर्न शिवलाल थापा नेतृत्वको ३ सदस्यीय समिति समेत बनाएको छ । तर त्यसलाई राजनीतिक समितिको बैठकले अनुमोदन गरेपछि मात्रै काम सुरु हुने पनि उनले सुनाए ।

यस्तै, अन्य पार्टीहरुसँग एकीकरण वा सहकार्य गरेर जाने विषयमा पनि राजनीतिक समितिको बैठकमा छलफल गर्ने एजेण्डा तय गरिएको पनि जसपाले जनाएको छ ।