समतामुलक राष्ट्र निर्माणका लागि एमालेले जित्नुपर्छ : नेता कँडेल

सुर्खेत । समतामुलक राष्ट्र निर्माणका लागि नेकपा एमालेले जित्नुपर्ने नेकपा एमालेका स्थायी कमिटि सदस्य एवं कर्णाली प्रदेश इन्चार्ज यामलाल कंडेलले बताएका छन् । उनले उत्पिडित समुदायको मुक्ती र समतामूलक राष्ट्र निर्माणका लागि नेकपा एमालेलाई मतदान गर्न समेत मतदाताहरुलाई आग्रह गरेका छन् ।

एमालेको भातृ संगठन नेपाल उत्पिडित जातीय मुक्ती समाज वीरेन्द्रनगरको नगरस्तरीय भेलालाई सम्बोधन गर्दै कंडेलले यस्तो बताएका हुन् ।

विगतमा नेकपा एमालेको सरकारले उत्पिडित, सिमान्तकृत, सामाजिक विभेदमा परेका समुदायको परिवर्तन र सुरक्षाका लागि उल्लेख्य काम गरेको बताउँदै अब पनि समतामूलक राष्ट्र निर्माणका लागि एमालेको सरकार आउनुपर्ने जिकिर गरे ।
एमालेको सरकार निर्माणगरी सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य, रोजगारी र समग्र देश विकासका लागि सूर्यमा मतदान गर्न उनले आग्रह समेत गरे ।

एमाले केन्द्रीय सल्लाहकार परिषद्का सदस्य बालराम शर्माले समुन्नत समाज निर्माण र राष्ट्रिय स्वाधिनताको रक्षाका लागि एमालेको सरकार जरुरी रहेको औल्याए ।

कार्यक्रममा मुक्ती समाजका केन्द्रीय सचिव तोरण वि.क.ले गरिब, दलित, विपन्न तथा विभेदमा परेका समुदायको मुक्तिका लागि लड्ने पार्टी एमाले भएकाले एमालेलाई आगमी मंसिर ४ गतेको निर्वाचनमा विजयी गराउनुपर्नेमा जोड दिए ।