
सुर्खेत । नेपाली कांग्रेस मधेस प्रदेशको संसदीय दलको नेतामा पार्टीका प्रदेश सभापति कृष्णप्रसाद यादव निर्वाचित भएका छन् । संसदीय दलको नेताका लागि आज बिहीवार भएको चुनावमा यादव १८ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी रामसरोज यादवले चार मत प्राप्त गरेका थिए ।
संस्थापन पक्षका तर्फबाट उम्मेदवार बनेको यादव रौतहट निर्वाचन क्षेत्र नंं १ (ख) बाट प्रदेश सभामा निर्वाचित भएका हुन् । यस्तै रामसरोज यादव धनुषा निर्वाचन क्षेत्र नंं ३ (क) बाट निर्वाचित प्रदेश सभा सदस्य हुनुहुन्छ ।
मधेश प्रदेशमा नेपाली कांग्रेसका २२ जना सदस्य छन् । कांग्रेस यहाँ दोस्रो ठूलो दलको रूपमा रहेको छ । यसअघि पार्टीको मधेस प्रदेश सभापतिको चुनावमा पनि कृष्णकुमार यादवले रामसरोज यादवलाई पराजित गरेका हुन् ।
कांग्रेसले संसदीय दलको नेता छान्नका लागि तीन सदस्यीय निर्वाचन समिति बनाएको थियो । सर्वसम्मत दलको नेता छान्ने सहमति नभएपछि चुनावबाट निर्णय भएको पार्टीका प्रदेश उपसभापति एवम् निर्वाचन समितिका संयोजक चन्द्रशेखर यादवले जानकारी दिए ।

फरकबाटो १४ पुष २०७९, बिहीबार २०:५२