
काठमाडौं । विवेकशील साझा पार्टीले संयोजक मिलन पाण्डेलाई स्पष्टीकरण सोधेको छ ।
पार्टी हित र मर्यादा विपरितका गतिविधि गरेको भन्दै पार्टीको मंगलबार बसेको बैठकको निर्णय अनुसार अध्यक्ष रवीन्द्र मिश्रले पाण्डेलाई स्पष्टीकरण सोधेका हुन् ।
पाण्डेलाई संयोजकको ‘गहन भूमिका दिइए पनि जिम्मेवारी बोध नगरी केन्द्रीय समिति बैठकमा लगातार अनुपस्थित भएको र दुई तिहाइ बढी केन्द्रीय सदस्यले बैठकबाट गरेको निर्णयलाई अस्वीकार गर्नुको कारण’बारे सोधिएको छ ।
पार्टीको नाम, ठेगाना तथा लेटरहेड दुरुपयोग गरेर अनधिकृत विज्ञप्ति प्रकाशन गर्न लगाएको भन्दै वैधानिक निर्णयविरुद्ध निर्वाचन आयोगमा पटकपटक निवेदन दिएर सञ्चारमाध्यममा भ्रम छर्नुको कारणबारे पनि उनलाई सोधिएको छ । पाण्डेलाई ४ पुससम्म स्पष्टीकरण पेश गर्न भनिएको छ । तोकिएको समयमा स्पष्टीकरण प्राप्त नभए कारबाही गर्ने चेतावनी पनि दिइएको छ ।

फरकबाटो २९ मंसिर २०७८, बुधबार २०:३७