सुर्खेत । वैदशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका १३ जना युवा अलपत्र परेका छन् । कम्पनीले कामबाट निकालेपछि आफूहरू एक महिनादेखि एउटा कोठामा थुनिएर बसेको उनीहरूले बताएका छन् । रुकुम पश्चिमका चार जना र सुनसरीका नौ जना युवा मलेसियाको निलाई ७ मा अलपत्र परेका हुन् । उनीहरू वैदेशिक रोजगारीका लागि गएको कात्तिकमा मलेसिया पुगेका थिए ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिका ४ का इन्द्रबहादुर ओली र टीकाराम भण्डारी, वडा नम्बर ११ का टेकबहादुर केसी र सुनील शाहसँगै सुनसरीको बराहक्षेत्र नगरपालिकाका सन्देश राई, दीपकचन्द्र बंशी, देवनारायण यादव, भरतप्रसाद यादव, सन्तोष यादव कामविहीन अवस्थामा रहेका छन् । त्यसैगरी सुनसरीकै कोशी गाउँपालिकाका विवेक कुमार मण्डल, हरिनगरा गाउँपालिकाका सुधीरकुमार पाल, कुन्दनकुमार पाल र दीपेन्द्रकुमार पाल अलपत्र परेको हुन् ।
उनीहरू रुकुम पश्चिमका यज्ञबहादुर बटाला, सुनसरीका शम्भु मण्डल र विष्णु घिमिरे एजेन्टमार्फत ग्लोबल रिक्रुटमेन्ट प्रा.लि. नामक म्यानपावरको सम्पर्कमा गएका थिए ।
यही म्यानपावरले आफूहरूलाई एचआर त्रिवेणी म्यानपावरबाट भिसा लगाएर मलेसियामा क्लिनरको काम गर्ने भन्दै पठाएको पीडितले जनाएका छन् । ग्लोबल म्यानपावरका हरि क्षेत्रीले आफूहरूलाई कामको ब्रिफिङ गर्दा सजिलो काम र धेरै पैसा आउने भन्दै आश्वासन दिलाएको उनीहरूले बताएका छन् । तर उता जाँदा जङ्गलको अप्ठ्यारो काममा लगाएको पीडितले गुनासो गरेका छन् ।
मलेसियामा आफूहरु अलपत्र अवस्थामा रहेको बताउँदै इन्द्रबहादुर ओलीले उद्धारका लागि अपिल गरेका छन् । आफूलाई नेपालको कम्पनीले झुक्याएर सम्झौतापत्रमा हस्ताक्षर गर्न लगाएको कुरा मलेसिया पुगेर मात्र थाह भएको उनको भनाई छ ।
फरकबाटो १२ पुष २०७९, मंगलवार २०:३०