चीनलाई सीमा नाकामा आयात–निर्यात सहज गराइदिन मन्त्री रेग्मीको आग्रह

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले सीमा नाकाबाट सहज रूपमा सामान आयात–निर्यात हुने व्यवस्था गर्न चीनलाई आग्रह गरेकी छन् ।

चीनतर्फका तातोपानी र रसुवाको केरुङ नाकाबाट अझै पनि सामान आयात–निर्यातमा कठिनाइ भएको व्यवसायीको गुनासो सम्बोधन गर्दै मन्त्री रेग्मीले आयात निर्यातमा कठिनाइ भोग्ने अवस्था अन्त्य गर्न आग्रह गरेकी हुन् ।

चाइना फाउन्डेशन फर पोभर्टी एलिभेशन नेपालको छैटौँ वार्षिक उत्सव कार्यक्रममा आज बुधवार बोल्दै उनले यस्तो आग्रह गरेकी हुन् ।

उनले कोभिडको समयमा खोप प्रदान गरेर चीनले नेपाललाई गुण लगाएको बताइन् । उनले अहिले पनि चीनबाट खोप आइरहेको उल्लेख गरिन् । छिमेकी देशहरूबीच सहयोगको अपेक्षा हुने मन्त्री रेग्मीले बताइन् ।