देशमा सुशासन कमजोर बन्दै गएको छ : प्रमुख आयुक्त राई

सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले देशमा सुशासन कमजोर भन्दै गएको बताएका छन् ।

बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतको  नवनिर्मित भवनको उद्घाटन गर्दै उनले देशमा भ्रष्टाचार बढ्दै गएको र  सुशासन कमजोर बन्दै गएको बताएका हुन् ।

आयोगको वार्षिक प्रतिवेदन अनुसार देशमा बेथिती र अनियमितता बढेको देखिएको उनको भनाई छ । ‘आयोगमा उजुरी पर्ने मध्य स्थानीय तहका बढी छन् । अन्य शिक्षा, स्वास्थ्य, भूमि, वनलगायतका क्षेत्रमा पनि उस्तै बेथिति बढेको देखिन्छ’ उनले भने, ‘देशमा भ्रष्टचार बढ्दै गएको छ र सुशासन कमजोर बन्दै गएको छ ।’

आयोगले वर्षेनी भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न दिएका सुझावहरु कार्यान्वयन पक्ष कमजोर रहेको उनको भनाई छ । सरोकारवाला निकायलाई प्रभावकारी कायान्वयन गन उनले आग्रह गरे ।

अनियमितता नै हुन नदिन सम्बन्धित निकायले कानुनसम्मत आफ्ना कामकार्वाहीहरु गरेर अघि बढ्नुपर्ने उनको सुझाव छ । कार्यालयबाट हुने सेवा प्रवाहलाई प्रभावकारी गराउन अनुगमन, प्रविधिको प्रयोगमा लाग्न पनि उनले आग्रह गरे ।

प्रमुख आयुक्त राईले देशमा सुशासन कायम गर्न एकल प्रयासबाट नभएर सामुहिक प्रयास हुनुपर्ने भन्दै भ्रष्टाचार नियन्त्रण गर्न सबै पक्ष जिम्मेवार र जबाफदेहि हुनुपर्नेमा जोड दिए । उनले आयोगमा पर्ने उजुरी हेर्दा सार्वजनिक तथा सरकारी सम्पतिको संरक्षणमा ध्यान नदिइएको भन्दै यसतर्फ सरोकारवालाहरुलाई ध्यान दिन आग्रह गरे ।

वीरेन्द्रनगर वडा नं ७ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतको आफ्नै भवन तयार भएको छ । नौ  करोड ३१ लाख ८७ हजार ५७० रुपियाँ लागतमा उक्त भवन निर्माण गरिएको हो । करिब तीन वर्ष लगाएर मुख्य भवन र सहायक भवन गरी दुई वटा भवन निर्माण गरिएको छ ।