प्रेम विवाह गरेको एक महिना नपुग्दै एक युवतीको मृत्यु

कैलालीमा प्रेम विवाह गरेको एक महिना नपुग्दै एक युवतीको मृत्यु भएको छ । दैलेखको गुँरास गाउँपालिका–२ बाट भागेर कैलालीको जानकी गाउँपालिका–६ जगतपुर बस्ने भरत भण्डारी (अर्जुन) सँग प्रेम विवाह गरेकी १९ वर्षीय विष्णु रावलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) हेमबहादुर शाहीले बिहीबार दिउँसो मृतकका श्रीमानले रावललाई उपचारका लागि टीकापुर अस्पताल ल्याएका र सोही क्रममा उनको मृत्यु भएको जानकारी दिए ।

डीएसपी शाहीकाअनुसार रावलले झुण्डिएर आत्महत्या प्रयास गरेको अवस्थामा श्रीमानले पासो काटेर अस्पतालमा पुगाएका थिए तर चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाको अनुसन्धानका लागि मृतकका श्रीमानलाई नियन्त्रणमा लिएको प्रहरीले शुक्रबार भने आफन्तको जिम्मा लगाएको छ ।

‘अनुसन्धानका लागि मृतकका श्रीमानलाई नियन्त्रणमा लिएका थियौँ तर प्रारम्भीक अनुसन्धानमा हत्या गरेको जस्तो नदेखिएकाले शुक्रबार आफन्तको जिम्मा लगाएका छौँ,’ डीएसपी शाहीले भने, ‘तर घटनाको अनुसन्धान भने जारी छ । हत्यालाई बल पुग्ने प्रमाण फेला परेमा जुनसुकै बेला पनि नियन्त्रणमा लिन सकिन्छ ।’

तर मृतकका माइती पक्षले भने घटना शंकास्पद भएकाले निष्पक्ष अनुसन्धानको माग गरेका छन् । मृतककी दिदी जमुना रावलले प्रेम विवाह गरेर आफूखुसी घरबाट कैलाली भागेर गएकी विष्णुले घटना भएको दिन समेत आमासँग कुराकानी गरेको बताउँदै त्यसको केही घण्टामा मृत्युको खबर आएकाले घटना शंकास्पद रहेको बताइन् ।

आफूहरुलाई बहिनीलाई भगाएर लगेको केटाले उनलाई आत्महत्या गर्न बाध्य पारेको वा हत्या गरेको हो की भन्ने आशंका लागेकाले निष्पक्ष अनुसन्धान गरेर प्रहरीले सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग उनको छ ।

उनकाअनुसार गुँरास गाउँपालिकामा घरधुरीको विवरण संकलनको काम गर्दै आएकी विष्णु गत २१ असारमा भण्डारीसँग भागेर कैलाली आएकी थिइन् । भण्डारीसँग प्रेम विवाह गरेर आएको एक महिना नबित्दै उनको मृत्यु भएको हो ।