
सुर्खेत । गुर्भाकोट १३ की सुर्खेतकी पुर्णकला टमाटा ५३ वर्षकी भइन् । उनले हाल आफ्नै बारीमा व्यवसायीक तरकारी खेती गर्दै आएकी छन् । पहिले घरमा खानका लागि मात्रै तरकारी खेती गर्दै आएकी टमटालाई व्यवसायीक तरकारी खेतीमा लाग्नका लागि प्रेरणा दियो युएनडिपी, अन्तर्रनिर्भर समाज र गुर्भाकोट नगरपालिका सुर्खेतको साझेदारीमा सञ्चालित कोभिड-१९ हरित पुर्नउत्थान परियोजनाले ।
परियोजना लागु भएदेखी उनले विभिन्न तरकारी बालीको बिऊँ तथा अन्य सामाग्री समेत प्राप्त गरेकी छन् । आलु, काउली, बन्दा , मुला, धनिया लगाएतका बिऊँ र लगाएतका सामाग्री प्राप्त गरेपछि उनलाई व्यवसायीक कृषिमा लाग्न प्रेरणा मिल्यो ।
अहिले उनको बारीभरी हरियाली छ । जसको कारण घरखर्च टार्न पहिलेभन्दा केही सहज महशुष उनले गरेकी छन् ।
उनी मात्रै होइन , सोही ठाउँका शिवदेव चपाई समेत परियोजनाले स्थानियको जिवनस्तर नै उकासेको बताउँछन् । आँफु पुरानो किसान भएपनि समुदायका अन्य नागरिकहरुले पनि आफ्नो जस्तै व्यवसायीक खेती गरुन् भन्ने चाहान्थे उनी ।
तर सबैले खानका लागि मात्रै खेती गर्ने र घरखर्चका लागि समस्या भएको सुनाउँदा उनले धेरै पटक व्यवसायीक कृषि गर्न सुझाएका पनि थिए ,तर उनको कुरा कसैले मान्दैनथे । जब युएनडिपी, अन्तर्रनिर्भर समाज र गुर्भाकोट नगरपालिका सुर्खेतको साझेदारीमा सञ्चालित कोभिड-१९ हरित पुर्नउत्थान परियोजना लागु भयो गाउँनै हरियाली भएको उनले सुनाए ।
यो परियोजना निरन्तर लागु भएको खण्डमा घरखर्च समेत टार्नका लागि भारत पस्नुपर्ने बाध्यता हराउने स्थानियहरुको भनाई छ ।
परियोजनाले गुर्भाकोट नगरपालिकाका नागरिकहरुको जिवनस्तर उकास्नका लागि विभिन्न सहयोग गर्दै आएको छ । सोही परियोजना अन्तर्रगत नगरपालिकामा ५० वटा बायो ग्यास, ५० वटा भकारो सुधार, तरकारी खेतीका लागि ४० वटा पक्कि फलामे टनेल, १ सय घरधुरीलाई बाख्रा पालन तालिम लगाएतको सहयोग गरिसकेको अन्तरनिर्भर समाज सुर्खेतका कार्यकारी निर्देशक विवेक शाहीले जानकारी दिएका छन् ।

यस्तै गत सोमबार सोही परियोजनाको अनुगमन तथा सदस्यहरुसंग भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा यु.एन्.डि.पीका आवासीय प्रतिनिधि आईसेनी लादे, कर्णाली प्रदेश यु.एन.डि.पी फिल्ड अफिसका प्रमुख रफिक सिद्धिकी र गुर्भाकोट नगरपालिकाका मेयर हस्त पुन लगाएतले अनुगमन गरेका हुन् ।
आगामी दिनमा यु.एन.डि.पी र स्थानिय सरकारसंगको साझेदारीलाई कसरी अगाडी बढाउने र नागरिकहरुको जिवनस्तरलाई कसरी उकास्ने विषयमा छलफल समेत भएको थियो ।

फरकबाटो १ पुष २०७९, शुक्रबार १८:५८