पाइलटको ‘ड्युटी आवर’ सकिँदा रुकुम जानुपर्ने विमान नेपालगञ्जमै अवतरण

काठमाडौं । काठमाडौबाट रुकुम उडेको नेपाल एयरलाइन्स (नेवानि) को ट्विनअर्टर जहाज सोमबार साँझ नेपालगन्जमा ‘नाइट स्टप’ गरेको छ । पाइलटको तोकिएको ‘ड्यूटी आवर’ सकिएपछि विमान नेपालगञ्जमै रोकिएको थियो । यसप्रति यात्रुहरूले असन्तुष्टि पोखेका छन् ।

किन यसो भयो त ? नेवानिका एक अधिकारीका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरण र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले पाइलटका लागि एक दिनमा १० घण्टा वा १० पटकको ल्यान्डिङसम्म उडान गर्न पाउने भनि निश्चित समयावधि तोकेको छ । त्यो समयावधि भन्दा बढी समय पाइलटले जहाज उडाएमा एयरलाइन्स र पाइलट दुबैलाई नियामक निकायले कारवाही गर्छन् ।

यसै बाध्यताका कारण सोमबार रुकुम  उडेको जहाजले नेपालगन्जमा नाइटस्टप गरेको ती अधिकारीले जानकारी दिए । ‘ड्यूटी आवरको सीमा मिच्न पाइन्न, त्यसैले जहाज नेपालगन्जमा अवतरण गरिएको हो,’ उनले भने ।

उनका अनुसार रुकुमको मौसम खराब भएको रिर्पोट आएपछि जहाजलाई नेपालगञ्जमै अवतरण गरिएको हो । रुकुम पुगेर अवतरण गर्न नसकेको भए पाइलटको ड्यूटी आवर क्रस हुने अवस्था थियो ।

त्रिभुवन विमानस्थलबाट सोमबार साँझ उडेको जहाजले सो दिन विहानैबाट उडान गर्दा यस्तो अवस्था आएको ती अधिकारीले बताए । आन्तरिक उडानमा नेवानिसँग दुई वटा मात्र ट्वीनअटर जहाज छन् ।

अनलाइनखबर