अपाङ्गतालाई मनोरञ्जनको रुपमा लिइनु हुँदैन : मन्त्री विष्ट

सुर्खेत । अपाङ्तालाई मनोरञ्जनको  रुपमा लिइन नहुने आर्थिक मामीला तथा योजना मन्त्री विन्दमान विष्टले बताएका छन् । बिहिबार सामाजिक विकास मन्त्रालयले आयोजना गरेको प्रदेश स्तरिय  अपाङ्ता समावेशी स्वास्थ्य र पुर्नस्थापना सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

राष्ट्रिय अपाङ्ग महासंघ केन्द्रले समन्वय गरेको कार्यक्रममा विष्टले नेपाली कलाकारहरु अपाङ्ता लाई लिएर हँसाउने र सबै त्यहि हेरेर हाँस्ने संस्कृती भएको बताए ।

‘सबै क्षेत्रबाट अपाङ्ता भएकाहरुको सम्मान हुनुपर्छ’ उनले भने “कसैलाई हेरेर हाँस्ने संस्कृतीको अन्त्य गर्नु जरुरी छ ।” सबै मानीसले सम्मानजनक वातावरणमा बाँच्न पाउनुपर्ने विष्टले तर्क गरे ।

कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ केन्द्रका अध्यक्ष मित्रलाल शर्माले अपाङ्ता भएका व्यक्तिहरुका लागि कानुन बनेपनि कार्यान्वयन भने हुन नसकेको बताए । उनले कानुन कार्यान्वयनका लागि राज्यपक्ष संवेदनशील हुनुपर्ने सुनाए ।

सामाजिक विकास मन्त्रालय सामाजिक सुरक्षा तथा महिला विकास शाखा प्रमुख अनिता ज्ञवालीले अपाङ्ता क्षेत्रमा राज्यको लगानी भएपनि अनुगमनको पाटो भने कमजोर भएको बताइन् । उनले विशेषगरी स्वास्थ्य क्षेत्रमा अझै बढि लगानी गरेर अगाडि बढ्नुपर्नेमा जोड दिईन ।

कार्यक्रममा स्वास्थ्य  तथा सुरक्षा क्षेत्रका प्रतिनिधी, अपाङ्ताका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।