एमबिबिएस कार्यक्रम उद्घाटन गर्न राष्ट्रपति भण्डारी जुम्ला आउँदै

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले सुरु गर्न लागेको एमबिबिएस तथा स्नातक तहका अरु कार्यक्रम उद्घाटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी जुम्ला आउँने भएकी छन् ।

मंसिर २६ गते राष्ट्रपति जुम्ला आउने कार्यक्रम रहेको प्रतिष्ठानका उपकुलपति डाक्टर मंगल रावलले जानकारी दिए । उनका अनुसार २० जनाको कोटा मध्ये १७ जना विद्यार्थी एमबिबिएस पढ्नको लागि भर्ना भइसकेको छन् ।

 उनले मंसिर २७ गतेबाट औपचारिक रुपमा पढाई सुरु हुने जानकारी दिए । अब जुम्लालाई मेडिकल हब बनाउने ढोका खुलेको उनको भनाइ छ । उनले गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षा सुनिश्चित गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।