पाकिस्तानविरुद्ध नेपाल : हेड टु हेड

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले भोलि बुधबार पाकिस्तानविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले पाहुना टोली पाकिस्तानको सामना गर्नेछ । खेल साँझ ५:३० बजे सुरु हुनेछ।

पाकिस्तान फिफाको निलम्बनबाट फुकुवापछि पहिलो अन्तराष्ट्रिय खेल खेल्नका लागि नेपाल आउन लागेको हो । पाकिस्तानले नेपालसँग दुई खेलको मैत्रीपूर्णका लागि प्रस्ताव गरेको थियो  । तर, नेपालले एक खेलको लागि सहमति जनाएको हो ।

पाकिस्तानविरुद्धको खेल घरेलु मैदानमा नेपालको लागि ५० औं खेल हुनेछ । नेपालले सन् १९८४ बाट दशरथ रंगशालामा आधिकारिक अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको हो ।  नेपालले दशरथ रंगशालामा पहिलो पटक माल्दिभ्सविरुद्ध औपचारिक अन्तराष्ट्रिय खेल खेलेको थियो ।

नेपाल र पाकिस्तान फुटबलमा चिरपरिचित प्रतिद्वन्दी हो । नेपाल र पाकिस्तानबीच हालसम्म १६ खेलमा प्रतिस्पर्धा भएको छ । जसमा नेपालले ४ खेल जितेको छ । पाकिस्तानविरुद्ध नेपालले ७ खेलमा हार व्यहोरेको छ भने ५ खेलमा बराबरी खेलेको छ ।

नेपालले पाकिस्तानसँग पहिलो पटक सन् १९८५ मा खेलेको थियो । जुन खेलमा नेपालले पाकिस्तानसँग २-२ गोलको बराबरी खेलेको थियो । ढाकामा भएको उक्त खेलमा नेपालका लागि गणेश थापा र मान बहादुर मल्लले एक एक गोल गरेका थिए ।

नेपालले पछिल्लो पटक पाकिस्तानसँग २०१८ मा खेलेको थियो । साफ च्याम्पियनसिप अन्तर्गत ढाकामा भएको खेलमा नेपाल २-१ ले पराजित भएको थियो । नेपालका लागि विमल घर्तिमगरले एक गोल गरेका थिए ।