नवौं राष्ट्रिय खेलकुद : बागमती ३६ खेलमै सहभागी बन्ने

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा बागमती प्रदेशले ३६ वटै खेलमा सहभागी हुने निर्णय गरेको छ ।

गण्डकी प्रदेशमा अर्को महिना आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा बागमती प्रदेशले सबै खेलमा सहभागी हुने निर्णय लिएको हो ।

बागमती प्रदेशले गत महिनामात्र प्रथम प्रदेश स्तरीय प्रतियोगिता सम्पन्न गरेको थियो ।

प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारीले राष्ट्रिय प्रतियोगितामा पहिलो हुने लक्ष्य सहित प्रदेशले तयारी अघि बढाएको खेलपाटीलाई बताए ।

‘नवौं राष्ट्रिय खेलकुदमा पहिलो हुने लक्ष्य सहित तयारी अघि बढाएका छौं ।’ भण्डारीले भने, ‘प्रतियोगिताका सबै खेलमा प्रदेशको सहभागीता रहन्छ ।’

बागमतीले गत महिनामात्र प्रदेश स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न गरेको थियो । देश संघीय संरचनामा गएपछि प्रदेश स्तरीय प्रतियोगिता गर्ने बागमती पहिलो प्रदेश हो ।

प्रदेश स्तरीय प्रतियोगिताको सफल आयोजना गरेको बागमतीले राष्ट्रिय खेलकुदमा समेत पहिलो बन्ने लक्ष्य सहित तयारी अघि बढाएको बताएको छ ।

‘प्रदेश खेलकुद प्रतियोगिताका आधारमा ८ खेलका खेलाडीलाई चाँडै बन्द प्रशिक्षणमा राख्छौं र बाँकी खेलको जिल्ला र प्रदेश छनोट सम्पन्न गछौं ।’ सदस्य सचिव भण्डारीले भने, ‘जिल्लालाई खेलाडी छनोट गरेर पठाउनका लागि कोटा समेत निर्धारण गरिसकेका छौं ।’

संघीय सरकारको आयोजनामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशका विभिन्न जिल्लामा आयोजना हुदैछ ।