चोक–चोकमा सरसफाई स्वयमसेवक

सुर्खेत । वीरेन्द्रनगरका चोक–चोकमा सरसफाई स्वयमसेवक खटिएका छन् । नगरका दशवटा चोकमा सरसफाई स्वयमसेवक खटाइएको हो ।

हरित पुर्नउत्थान प्रवर्द्धन परियोजनाअन्तर्गत सफाई अभियानलाई निरन्तरता दिन र नगरलाई सफा राख्न चोक–चोकमा स्वयमसेवक खटाइएको हो । वीरेन्द्रनगर नगरपालिका सुर्खेत तथा यूएनडीपीको सहयोग र अन्तरनिर्भर समाज सुर्खेतको सहजीकरणमा यो अभियान चलाइएको हो ।

वीरेन्द्रचोक, एरिचोक,गणेशचोक, मंगलगढीचोक, पीपिराचोक, एयरपोर्टचोक, नगरपालिकाचोक, घण्टाघरचोक, धमलाचोक लगाएतका चोकहरुमा सरसफाई स्वयमसेवक खटाइएको छ ।

चोकहरुमा खटाइएका स्वयमसेवकहरुले जथाभाबी फोहोर गर्नेहरुलाई निगरानी गर्नुका साथै आवश्यक परे नगरपालिकाको फोहोरमैला कार्यविधि अनुसार कारबाहिका लागि नगरपालिकामा जानकारी समेत गराउनछन् ।

सवारीचालक, पैदलयात्री लगाएत स्थानिय व्यापारीहरुलाई सरसफाई सम्बन्धी सचेतना दिने काम चोकमा खटाइएका स्वयमसेवकहरुले गर्ने अन्तनिर्भर समाज सुर्खेतका कार्यकारी व्यवस्थापक विवेककुमार शाहीले जानकारी दिए ।

उनका अनुसार सरसफाई सन्देश दिन र चेतना बृद्धिगर्नका लागि सञ्चालित परियोजनामा नागरिक तथा स्थानिय व्यापारिमा अटेरीपन सुरु भएपछि चोक–चोकमा स्वयमसेवक खटाई निगरानीका साथै सफाई गर्न थालिएको हो ।

 

वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी समेत भएकोले अन्य जिल्लाहरुबाट आउने नागरिकलाई वीरेन्द्रनगरमा फोहार जथाभाबी फाल्नुहुँदैन भन्ने सन्देश दिनपनि यो अभियान सुरु गरिएको हो ।

‘कसले फोहोर फाल्छ प्रमाणका लागि भिडियो समेत खिचिन्छ ’ शाहीले भने “ तर त्यहि काम पटक–पटक दोहोर्‍याएपछि भने हामीहरु भिडियो सार्वजनिक गर्न बाध्य हुन्छौं ।”

वीरेन्द्रनगरलाई सफा र सुन्दर नगर बनाउनका लागि स्थानिय व्यापारी, स्थानिय नागरिक र पैदलयात्री तथा सवारीचालकहरुको समेत उत्तिकै भुमीका हुनुपर्ने उनले सुनाए ।

अन्य जिल्लाहरुमा आँफुलेपनि फोहोर जथाभाबी नफाल्ने र कसैले फालेको देखे जसले देख्छ उसैले कारबाहि गर्ने गरेको शाहीले बताए । त्यहि संस्कार वीरेन्द्रनगरमा समेत सिक्न जरुरी भएको उनले सुनाए ।