पाकिस्तानी फुटबल टोली नेपालमा

काठमाडौं । नेपालसँगको मैत्रीपूर्ण खेलका लागि पाकिस्तानको राष्ट्रिय फुटबल टिम नेपाल आईपुगेका छन् । पाकिस्तानी टोली आइतबार राति नेपाल आईपुगेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

नेपालसँगको खेलका लागि  पाकिस्तानले हसन बसिरको कप्तानीमा टोली घोषणा गरेको थियो । नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण खेल कात्तिक ३० गते दशरथ रंगशालामा हुनेछ ।

मैत्रीपूर्ण खेल फिफा डे अन्तर्गत हुनेछ । खेल साँझ ५:३० बजे सुरु हुनेछ। एन्फाले सामान्य प्यारापिटतर्फ ५ सय र भिआइपीतर्फ १ हजारको टिकट दर निर्धारण गरिएको जनाएको छ ।

एन्फाले टिकट काटेर हेर्ने एक भाग्यशाली दर्शकले कतारमा आयोजना हुने फिफा विश्वकप अन्तर्गत ब्राजिल र क्यामरुनबीचको खेलको टिकट पाउने जनाएको छ ।  विजेता गोलापर्थाद्वारा छनोट गरिने एन्फाले जनाएको छ ।

नेपालले कप्तान तथा गोलकिपर किरण चेम्जोङको अनुपस्थितिमा रोहित चन्दको कप्तानीमा टिम घोषणा गरिसकेको छ ।