नवौँ राष्ट्रिय खेलकुद : पुरुष भलिबलमा पुलिसको विजयी सुरुवात

पर्वत । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शुक्रवारदेखि सुरु भएको पुरुष भलिबल प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ।

पोखरा रंगशालामा भएको खेलमा पुलिसले कर्णाली प्रदेशलाई २५–१६, २५–१२ र २५–११ को सोझो सेटमा पराजित गरेको हो। यस जितसँगै पुलिसले समूह ‘ए’ बाट क्वाटर फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ  शुक्रवारको विजेता नेपाल पुलिस क्लबले आगामी दोस्रो तथा समूह चरणको अन्तिम खेल लुम्बिनी प्रदेशसँग शनिवार खेल्ने छ।

सहभागी ११ टिमलाई चार समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा पुलिस सहित कर्णाली प्रदेश र लुम्बिनी प्रदेश  छन्। समूह ‘बी’ मा त्रिभुवन आर्मी क्लब, प्रदेश नं. १ र मधेस प्रदेश, समूह ‘सी’ मा सशस्त्र प्रहरीको एपीएफ क्लब, गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) र सुदूरपश्चिम तथा समूह ‘डी’ मा गण्डकी प्रदेश र बागमती प्रदेश छन्।

लिग कम नकआउटको आधारमा भइरहेको प्रतियोगितामा पुलिसले जितसँगै तीन अंक जोडेको छ।
प्रतियोगितामा समूहका शीर्ष दुई टिम क्वाटर फाइनल पुग्ने छन्। तालिकाअनुसार समूह ‘डी’ मा दुई टिम मात्र रहेकाले गण्डकी र बागमती सिधै क्वार्टर फाइनलमा पुगेका छन्। दुवैले अब समूह विजेता बन्न प्रतिस्पर्धा गर्ने छन्। पुरुष भलिबलको फाइनल खेल कात्तिक तीन गते हुने छ।