आयुष, दिनेश र कमल बन्द प्रशिक्षणबाट बाहिर

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण मंगलबारबाट सुरु भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रशिक्षणमा ३४ खेलाडी सहभागी भएको जनाएको छ । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुलाह अल्मुताईरीले बन्द प्रशिक्षणमा ३४  खेलाडी बोलाएका हुन् ।

तर, मंगलबार सुरु बन्द प्रशिक्षणमा तीन खेलाडी सहभागी नहुने भएका छन् । आयुष घलान, दिनेश हेन्जन र कमल थापा प्रशिक्षणमा सामेल नहुने भएका छन् । यस अघि तीनै खेलाडी बन्द प्रशिक्षणमा सामेल हुने सूचीमा रहेका थिए । आयुष र दिनेश चोटको कारण प्रशिक्षणमा सामेल नभएका हुन् । कमल भने पारिवारिक कारण टिमबाट बाहिर रहेका हुन् ।

तर, मुख्य प्रशिक्षक अल्मुताईरीले प्रशान्त अवस्थीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् । यस्तै सन्तोष तामाङ चोटबाट मुक्त हुँदै टिममा फर्किएका छन् ।

अफ्रिकी राष्ट्र मरिससविरुद्धको मैत्रीपूर्ण फुटबल खेलका लागि नेपालले तयारी सुरु गरेको हो । नेपालले दशरथ रंगशालामा मरिसससँग दुई मैत्रीपूर्ण खेल खेल्ने छ । मैत्रीपूर्ण खेल जनवरी २९ र फेब्रुअरी १ मा हुनेछ ।

 टिममा परेका खेलाडीहरु :

विशाल श्रेष्ठ, दीप कार्की, किरण कुमार लिम्बु, सत्रुघन चौधरी, टेकेन्द्र थापा, आशिष लामा, आकाश बुढा मगर, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, विमल घर्तीमगर, विशाल राई, दर्शन गुरुङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, कृतिस रन्त छुन्जु, मनिष डाँगी, नविन गुरुङ, नितिस थापा, पुजन उपरकोटी,  सुवास गुरुङ, सुदीप गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज ज्यू ठकुरी, सुशिल राई, तेज तामाङ, जगजित श्रेष्ठ, आशिष राई, सन्तोष तामाङ, प्रशान्त अवस्थी