क्रिकेट खेलाडीलाई जनही ३ लाख रुपैयाँ पुरस्कार दिने प्रधानमन्त्री प्रचण्डको घोषणा


सुर्खेत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्रिकेट खेलाडीलाई सम्मान गर्दै हरेक खेलाडीलाई ३ लाख रुपैयाँ पुरस्कारको घोषणा गरेका छन् । बिहान खेलाडीलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्री प्रचण्डले फूलमालाले सम्मान समेत गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘विश्व कप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरी नेपालको स्वाभिमान र पहिचान उच्च बनाएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाई ज्ञापन गर्दै प्रतिखेलाडी ३ लाख रुपैयाँ पुरस्कारको घोषणा गर्दछु ।’

यस्तै, प्रधानपन्त्री दाहालले मूलपानी, चितवनलगायत निर्माणाधीन क्रिकेट रङ्गशाला निर्माण कार्य तीव्रताका साथ अगाडि बढाउन सरकारको तर्फबाट आवश्यक प्रबन्ध गर्ने समेत घोषणा गरेका छन् ।

हिजो यूएईसँगको खेलअघि त्रिवि खेल मैदान कीर्तिपुरमा प्रधानमन्त्री प्रचण्ड आफैँ उपस्थित भएर खेलाडीलाई हौसला दिएका थिए । यूएईलाई ९ रनले हराउँदै नेपाल सन् २०२३ को एक दिवसीय विश्व कप छनोटमा सिधै प्रवेश पाएको छ ।