मधेशलाई हराउँदै एपीएफ फाइनलमा

काठमाडौं । विभागीय टोली एपीएफ क्लब पीएम कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहीबार भएको पहिलो सेमिफाइनलमा मधेश प्रदेशलाई ७ विकेटले हराउँदै एपीएफ फाइनलमा पुगेको हो ।

मधेशले दिएको १ सय २३ रनको लक्ष्य एपीएफले २१ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो । एपीएफको जितमा लोकेश बमले अविजित रहदै सर्वाधिक ३५ रन बनाए ।

यस्तै प्रदिप ऐरीले ३३ रन जोड्दा आसिफ शेखले २५ रन बनाए । सुमित महर्जनले १३ रन बनाए । मधेशका रुपेश सिंहले २ तथा राजेश यादवले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मधेशले ३१ ओभरमा अलआउट हुँदै १ सय २२ रन बनाएको थियो ।

मधेशका लागि रुपेश सिंहले अविजित रहदै सर्वाधिक ३५ रन जोडे । सन्तोष कार्कीले २० रन जोड्दा इमरान शेखले १६ रन बनाए ।

अनिल साहले १३, आदील आलमले ११ र राजेश यादवले १० रन बनाए ।

एपीएफका कमल ऐरीले ४ विकेट लिए । भुवन कार्की र मौषम ढकालले २/२ विकेट लिए ।

अब एपीएफले उपाधिका लागि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग खेल्नेछ ।

पुलिस र आर्मीबीचको दोस्रो सेमिफाइनल शुक्रबार हुनेछ ।

प्रतियोगिताको फाइनल खेल कात्तिक २६ गते शनिबार हुनेछ ।

प्रतियोगिताको विजेताले १० लाख नगद पुरस्कार पाउने छन्। यस्तै उपविजेताले ५ लाख पाउने छन् । सेमिफाइनलमा पुग्ने टोलीले ५० हजार पाउने छन् ।

त्यस्तै उत्कृष्ट खेलाडीले ५० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले २० हजार तथा इमर्जिङ प्लेयरले १० हजार पाउने छन्।