सन्दीपमाथिकाे आराेप पुष्टि नभएसम्म क्यानले निलम्बन वा कुनै कारबाही नगर्ने

काठमाण्डौ । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि लागेको बलात्कार आरोपका विषयमा नेपाल क्रिकेट सङ्घ (क्यान) ले तत्काल कुनै पनि छानबिन नगर्ने बताएको छ ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपलाई आरोपमात्र लागेको र अनुसन्धानकै क्रममा रहेकाले यस विषयमा क्यानले तत्काल केही नगर्ने बताए । सन्दीपको बारेमा अहिले पुष्टि भइसकेको छैन, यो सुनियोजित पनि त हुन सक्छ, यदि सन्दीपले अनुशासन नै तोडेको हो भने त कानुनी कारबाही हुनुपर्छ’, क्यान अध्यक्ष चन्दले भने ।
उनले कानुनीरूपमा पुष्टि नभएसम्म सन्दीपलाई निलम्बन वा कुनै पनि किसिमको कारबाही नगर्ने बताए । महानगरीय प्रहरी वृत्त गौशालामा परेको जाहेरीमा स्याङ्जा आरुचौर स्थायी घर भइ अहिले काठमाण्डौको बूढानीलकण्ठ बस्ने सन्दीपले बालिकालाई यही भदौ ५ गते काठमाण्डौ र भक्तपुरका विभिन्न ठाउँमा घुमाएको र त्यही दिनको राति काठमाण्डौको एक होटलमा ल्याएर जबरजस्ती गरेको आरोप छ ।

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप क्यारेबियन प्रिमियर लिग ९सीपीएल० क्रिकेट खेल्नका लागि अहिले वेस्ट इन्डिजको जमैकामा छन् । त्यसअघि सन्दीपसहितको नेपाली राष्ट्रिय क्रिकेट टोली केन्यासँग तीन एकदिवसीय र पाँच टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्न यही भदौ ६ गते केन्या गएका थियो ।