मछिन्द्रको जितमा आत्मघाती गोल निर्णायक

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मछिन्द्र फुटबल क्लबले संघर्षपूर्ण जित निकालेको छ ।  शनिबार भएको खेलमा पेपे पिजा मछिन्द्रले फ्रेन्ड्स क्लबविरुद्ध १-० गोल अन्तरको संघर्षपूर्ण जित निकालेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा मछिन्द्र आत्मघाती गोल उपहारबाट विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा फ्रेन्ड्सले आत्मघाती गोल गरेको थियो ।

खेलको ६६ औं मिनेटमा फ्रेन्ड्सका डिफेन्डर रोनिल एन्थोनी पाउलले आत्मघाती गोल गरेका थिए । मछिन्द्रका कप्तान सुजल श्रेष्ठको क्रसमा शशील कुमार थापाले हेड गरेपछि प्राप्त बल क्लियर गर्ने क्रममा रोनिलले आफ्नै पोस्टमा गोल गरे । जुन गोल मछिन्द्रको जितमा निर्णायक बन्यो ।

जितसँगै मछिन्द्रले ८ खेल २० अंक जोडेको छ । र, मछिन्द्र शीर्ष स्थानमा यथावत रहेको छ ।  फ्रेन्ड्स ३ अंक जोडेर पुछारमा रहेको छ ।  फ्रेन्ड्स जारी लिगमा जित निकाल्न नसक्ने एक्लो टोली हो । खेलमा मछिन्द्रका देवेन्द्र तामाङ म्यान अफ दि म्याच चुनिए । फ्रेन्ड्सका सकल रेग्मी इमर्जिङ प्लेयर चुनिए ।