सुर्खेत । प्रदेश अस्पताल सुर्खेतलाई विज्ञान प्रतिष्ठान बनाउनका लागि बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा स्तरोन्नती गर्नको लागि आज प्रदेश अस्पताल सुर्खेतले बृहत छलफल कार्यक्रमको आयोजना गरेको थियो ।
बृहत छलफल कार्यक्रममा कर्णाली प्रदेश अस्पतालका निर्देशन डा. डम्बर खड्काले प्रदेश अस्पताल सुर्खेतलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्तरोन्नती गर्नु पर्ने आधारहरु प्रस्तुत गरेका थिए । स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्नु पर्ने आधारहरु प्रस्तुति दिँदै प्रतिष्ठानको रुपमा विकास गर्नको लागि अस्पतालसँग भौतिक पूर्वाधार पर्याप्त रहेको भन्दै उनले अस्पतालमा कर्णालीका १० वटै जिल्ला र छिमेकी प्रदेशबाट समेत सेवा लिन आउने गरेकाले अस्पतालमा प्रयोगात्मक अभ्यासको लागि समेत विरामीहरुको चाप रहेको बताए ।
अस्पतालका निर्देशक डा खड्काले कर्णाली प्रदेश सरकारले आर्थिक बर्ष २०७९/०८० को निति तथा कार्यक्रममा यस अस्पतालाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्ने गरी समावेश गरेकाले प्रारम्भिक चरणमा यो छलफलको आयोजना गरिएको बताए ।
कर्णाली प्रदेशको राजधानी बाहेक अन्य प्रदेशका राजधानी सहरमा मेडिकल कलेज र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु भइसकेकाले कर्णाली प्रदेशको राजधानीमा यो आवश्यक रहेको भन्दै खड्काले कर्णालीले आफ्नै ठाउँ बाट दक्ष जनशक्ति उत्पादन गर्न सक्ने र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न र दक्ष स्वास्थ्यकर्मीको उत्पादन गरी कर्णालीको स्वास्थ्य क्षेत्रमा नयाँ अनुसन्धानको जरुरी रहेको बताए ।
बरिष्ठ स्वास्थ्य विज्ञ प्रा.डा रमेशकान्त अधिकारीले कर्णाली प्रदेश अस्पतालसँग सेवा सम्बन्धी उपलब्धी धेरै प्रभाकारी भए पनि अबका दिनमा सेवालाई अध्ययन र अनुुसन्धान बढी जोड दिनुपर्ने बताए । स्वास्थ्य विज्ञान प्रतिष्ठान संचालनको लागि अझै काम नर्ग बाकी रहेको र समन्वयको पक्षलाई बढी ध्यान दिनुपर्ने बताए ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व डीन प्रा.डा. भुवननाथ महराठाले आफ्नो क्षेत्रमा चाहीने जनशक्ती आफैले उत्पादन गर्दा धेरै प्रभावकारी हुने बताएका छन् । उनले कर्णाली प्रदेश सरकारले नै प्रतिष्ठान संचालनको लागि सबै काम गरेको हुनाले अब संचालनको लागि धेरै रोकिनु पर्ने कारण नभएको औल्याए ।
नेपाल मेडिकल काउन्सिलका अध्यक्ष समेत रहेका प्रा.डा. भगवान कोइरालाले प्रतिष्ठानको उदेश्य एम.बी.बी. एस.मात्रै पढाउने भन्दा पनि उत्पादन भएको जनशक्तिलाई कहाँ लिने भन्ने बारेमा सोच्न जरुरी रहेको बताए । राष्ट्रिय निति अनुसार स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्नु पर्ने भन्दै प्रदेश सरकार र संघीय सरकारको यसमा समन्वय जरुरी रहेको बताए ।
यस्तै कार्यक्रममा वीरेन्द्रनगर गरपालिका प्रमुख मोहनमाया ढकालले प्रदेश अस्पताल सुर्खेतलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनको लागि स्थानीय सरकारको तर्फबाट आफुले गर्नुपर्ने सहयोग गर्ने बताइन् । प्रा.डा.अर्जुन कार्कीले संस्था विकास गर्नको लागि ऐन हतियार मात्रै भएकोले संस्थाको विकास गर्नको लागि सबैले प्रतिबद्धता जनाउनु पर्ने बताए । अहिले कर्णालीमा प्रदेश अस्पतालाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनको लागि अरु बनेका स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुबाट ज्ञान लिनु पर्ने बताए ।
फरकबाटो २ आश्विन २०७९, आईतवार २०:०३