आजदेखि चुनावी प्रचारप्रसार गर्न पाइने

काठमाण्डौ । निर्वाचन आचारसंहिता अनुसार आजदेखि दल तथा उम्मेदवारले चुनावी आमसभा, जुलुस, गोष्ठी, कोणसभालगायतका गतिविधि गर्न पाउने भएका छन् । आजदेखि मंसिर १ गतेसम्म दल तथा उम्मेदवारले चुनावी प्रचारप्रसार गर्न सक्नेछन् । यो अवधिमा जुलुस, आमसभा र कोणसभा गर्न पाइनेछ ।

आजदेखि प्रचारप्रसार गर्न पाउने भएपछि दलका शीर्ष नेताहरू विभिन्न कार्यक्रममा सहभागी हुन देश दौडाहामा निस्कन थालेका छन् । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार शून्य समय लागू हुनु ४८ घण्टा अगाडिसम्म दल तथा उम्मेदवारलाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गरी प्रचारप्रसारका गतिविधि गर्न दल तथा उम्मेदवारलाई आग्रह गर्नुभयो । प्रमुख आयुक्त थपलियाले आचारसंहिता नैतिक र कानुनी बन्धन भएकाले यसलाई सबैले पालना गर्नुपर्नेमा जोड दिए ।

आयोगले राजनीतिक दललाई बढीमा साढे ५ करोड रुपैयाँसम्म खर्च गर्न पाउने सीमा तोकेको छ । दलहरूले तोकिएको सीमाभित्र रहेर प्रचारप्रसार सामग्री, गोष्ठी, अन्तरक्रिया, सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रचार, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालनलगायतमा रकम खर्च गर्न सक्नेछन् ।

प्रधानमन्त्री र मन्त्री मुख्य प्रचारक भएमा सरकारी स्रोत–साधनको प्रयोग नगरि प्रचारमा जान पाउने आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताउनुभयो । प्रधानमन्त्री र मन्त्रीहरू आफ्नो क्षेत्रबाहेक अर्कोमा प्रचारमा जानुपरेमा आयोगबाट अनुमति लिनुपर्ने हुन्छ ।

आफैँ उम्मेदवार भएका मन्त्री आफ्नो क्षेत्रमा प्रचारप्रसारमा जान पाउने तर सरकारी साधन–स्रोतको प्रयोग गर्न नपाउने आचारसंहितामा उल्लेख छ । पालिकाका जनप्रतिनिधिले सरकारी सुविधामा चुनावी प्रचार गर्ने तथा आफ्नो क्षेत्रमा प्रचारमा सहभागी हुन पाउनेछैनन् । निर्वाचन आयोगले उम्मेदवारलाई आफ्नो चुनाव क्षेत्रमा भएको आमसभा वा कोणसभाका लागि मञ्च बनाउँदा लागेको खर्च विवरण चुनाव सकिएको १५ दिनभित्र पेस गर्न निर्देशन दिएको छ ।

प्रचारप्रसार गर्दा सार्वजनिक सम्पत्ति विद्यालय तथा व्यक्तिको निजी सम्पत्तिमा असर पुर्याउन नहुने तथा चुनावी गतिविधिमा बालबालिकाको प्रयोग गर्न नपाइने आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले बताए । त्यस्तै जुलुस, आमसभा, कोणसभा वा भेला गर्नुभन्दा २४ घण्टाअघि नै स्थानीय प्रशासनमा जानकारी गराउन पनि उनको आग्रह छ ।

राष्ट्रिय झण्डा १० वटाभन्दा धेरै प्रयोग नगर्न, चर्को आवाज नगर्न, दलको लोगोसहितका स्टिकर, कपडा, टोपी, टिसर्ट, ज्याकेट र झोला बोक्न र बाँड्न पनि आचारसंहिताले रोक लगाएको छ । बेलुका ७ बजेपछि प्रचारप्रसारका गतिविधि नगर्न पनि आयोगले निर्देशन दिएको छ ।

दल र उम्मेदवारले आचारसंहिताको पालना गरी सञ्चारमाध्यमबाट प्रचारप्रसार गर्न सक्नेछन् । आचारसंहिता उल्लङ्घन भएको पाइएमा आयोगको निःशुल्क नम्बर ११०२ वा आयोगको वेबसाइटलगायतमा सूचना दिन सकिने पनि निर्वाचन आयोगले जनाएको छ । चुनाव आउन अब १७ दिन मात्रै बाँकी छ ।