कर्णालीमा चाडपर्व लक्षित सुरक्षा योजनाः चार हजार बढी सुरक्षाकर्मी खटाइने

सुरक्षामा कुकुर परिचालन गरिने

सुर्खेत । दसैं तिहार र छठ पर्व नजिकिएसँगै कर्णाली प्रदेश प्रहरी कार्यालयले विशेष सुरक्षा योजना बनाएको छ । चाडपर्वको समयमा देखापर्न सक्ने सुरक्षा चुनौतीलाई लक्षित गरी असोज ९ गतेदेखि लागु हुने गरेर विशेष सुरक्षा योजना बनाएको हो । चाडपर्वका बेलामा हुने सक्ने घटनालाई ध्यानमा राखेर चार हजार एक सय ४१ जना सुरक्षाकर्मी समेत खटाइएको प्रदेश प्रहरीले जनाएको छ । सुरक्षा योजनामा कुकुर परिचालन गर्नेदेखि मोवाइल गस्ती, तत्काल रेस्पोन्स टिम परिचालन र यात्रुको सहजताका लागि सहायता कक्ष स्थापनासम्मको योजना समेटिएका छन् ।

चाडपर्वको समय हुन सक्ने सम्भावित सुरक्षा खतरालाई विश्लेषण गरेर सुरक्षा व्यवस्था कडा बनाइएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता  माधव श्रेष्ठले जानकारी दिए । प्रवक्ता  श्रेष्ठले प्रदेशका १० जिल्लामा चार हजार एक सय ४१ जना सुरक्षाकर्मी खटाइएको बताए । प्रदेशका १२५ स्थानमा क्यूआरटी (क्वीक रेस्पोन्स टिम) परिचालन गरिने छ ।

चार्डपर्वको अवधिमा प्रदेशभर नियमित चेक प्वाइन्ट ३१ स्थानमा, ट्राफिक सहितको संयुक्त चेकिङ ५३ स्थानमा, चोरी, तस्करी, लागु औषध कारोबार लगायतका अवैध गतिविधि नियन्त्रणका लागि १८ स्थानमा चेकिङ गरिने प्रदेश प्रहरीले जनाएको छ । यस्तै झै–झगडा, जुवा तास, चोरी लुटपाट, मापसे नियन्त्रणका लागि ८६ स्थान र २ सय ६५ स्थानमा मोवाईल गस्ती र पैदल गस्ती गरिने छ ।

१८ स्थानमा विशेष चेकिङ अन्र्तगत दुई वटा चालकको व्यवस्था गरिने प्रदेश प्रहरीले जनाएको छ । खाद्यान्नलगायत अत्यावश्यक वस्तुहरुको कृतिम अभाव हुन नदिन अनुगमन गरी सहज आपूर्ति व्यवस्था गरिने बताइएको छ । यस्तै आर्थिक कारोबार हुने स्थान, धार्मिक तथा पर्यटकीय स्थलहरुको सुरक्षा तथा बजार अनुगमका लागि ७५ स्थान छुट्याइएको छ ।

प्रदेशका २६ स्थानमा सहायता कक्ष

राजधानीबाट बाहिर जाने र आउने यात्रुलाई सहजताका लागि प्रदेशका २६ स्थानमा सहायता कक्ष राखिएको छ । प्रदेश प्रहरीका अनुसार १० जिल्लामा नै हेल्प डेस्क राखिएको हो । अपराध हुन नदिने वैज्ञानिक उपकरणको समेत प्रयोग गरिएको बताइएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरका मुख्य चोक, व्यापारिक केन्द्र, आर्थिक कारोबार हुने स्थान, जिल्ला सदरमुकामका बजार क्षेत्रमा क्लोज सर्किट (सीसी) क्यामराबाट निगरानी भइरहेको प्रवक्ता  श्रेष्ठले जानकारी दिए ।

त्यस्तै राजमार्ग स्कर्टिङ, पैदल गस्ती, सादा पोशाकमा प्रहरी परिचालन लगायतमा प्रहरी खटिने छन् । चाडपर्वमा खाद्यान्न लगायत अत्यावश्यक वस्तुहरुको कृतिम अभाव हुन नदिन सरोकारवाला निकायहरुसँग समयमै आवश्यक समन्वय गरी प्रभावकारी बजार अनुगमन एवं कालो बजारी हुन नदिने र यात्रुसँग बढी भाडा असुल गर्ने, दुव्र्यवहार गर्ने, क्षमता भन्दा बढी यात्रु राख्ने तथा ट्राफीक नियम उल्लङघन गर्ने सवारी साधनलाई कारवाहीको दायरामा ल्याउने प्रहरीले जनाएको छ ।

कुकुर परिचालन गरिने

चाडपर्वका बेला हुने चोरी, डकैती, लुटपाट र अपराधिक क्रियाकलापलाई रोक्न कडा नीति लिएको प्रहरीले जनाएको छ । सीमा नाका तथा अपराधिक गतिविधि हुन सक्ने संवेदनशील स्थानहरुमा कुकुरसहितको चेकिङको व्यवस्था मिलाइएको छ । यात्रु ठगिने तथा लागूऔषध, विस्फोटक पदार्थ जस्ता वस्तु ओसारपसार हुनसक्ने भएकाले कुकुर परिचालन गर्ने योजना बनाइएको प्रवक्ता  श्रेष्ठले बताए । चाडपर्वको अवसरमा हुन सक्ने लुटपाट, चोरी, डकैती, तस्करी तथा लागु औषधको ओसारपसार नियन्त्रणको लागि तालिम प्राप्त कुकुरसहितको चेकिङको व्यवस्था गरिएको प्रदेश प्रहरीले जनाएको छ ।

सुरक्षा जोखिम

प्रहरीले चाडपर्वको समयमा सुरक्षा जोखिममा हुने स्थानहरु पनि छुट्टयाएको छ । जसलाई मध्यनजर गरेर सुरक्षा योजना तयार पारिएको हो ।चाडपर्वको समयमा सड्क दुर्घटना, कुटपिट, चोरी, डकैती, पाकेटमारी, लुटपाट, जुवा, अवैध मदिरा बिक्री, विष्फोटन, तस्करी, ठगी र ट्राफिक नियमको उलंघन जस्ता क्रियाकलाप हुन सक्ने विश्लेषण प्रहरीले गरेको छ । प्रवक्ता  श्रेष्ठका अनुसार चाडपर्वको समयमा सर्वसाधारणको घर, सम्पत्ति रहेको स्थान, विशिष्ट व्यक्ति, महत्वपूर्ण प्रतिष्ठानहरु, मठ मन्दिर र गुम्बा रहेको स्थान सुरक्षा जोखिममा हुन्छन् । महिला तथा बालबालिका माथि हुन सक्ने दुव्र्यवहार तथा अपराधिक कार्य र अवैध हातहतियार ओसार पसार तथा त्यसको प्रयोगबाट हुने गम्भीर घटना, दुर्घटनालाई रोक्न विशेष प्राथमिकता दिएर प्रहरी परिचालन गरिएको छ ।