पुरुष भलिबलको स्वर्णका लागि एपीएफ र आर्मी भिड्ने

पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष भलिबलको फाइनलमा एपीएफ र आर्मी प्रतिस्पर्धा गर्ने भएका छन्।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा बुधबार भएको सेमिफाइनलमा त्रिभुवन आर्मीले पुलिसलाई तथा एपीएफले गण्डकीलाई पराजित गर्दै फाइनलमा स्थान बनायो। आर्मीले ३-१ को सेटमा जित निकाल्दा एपीएफले ३-० ले नतिजा आफ्नो पक्षमा पारेको थियो।

आर्मीले पहिलो सेट २५-१८ ले आफ्नो पक्षमा पार्दा दोस्रो सेट २१-२५ ले गुमाएको थियो। त्यसपछिको दुई सेटमा लगातार दुई सेटमा जित निकाल्दै खेल ३-१ ले आफ्नो पक्षमा पारेको थियो। तेस्रो सेट २५-२३ ले जितेको आर्मीले चौथो सेट २५-१९ ले आफ्नो पक्षमा पारेकी हुन्।

त्यस्तै बुधबार नै भएको अर्को खेलमा एपीएफले गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गर्‍यो। पहिलो सेट २५–१९ ले आफ्नो पक्षमा पारेको एपीएफले दोस्रो र तेस्रो सेट २७-२५ र २५-१२ ले आफ्नो पक्षमा पार्‍यो। एपीएफले स्वर्ण पदकका लागि विभागीय टोली त्रिभुवन आर्मीसँग बिहीबार खेल्नेछ।